• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    मञ्चमा आमाहरू, दर्शकमा सन्तान : इन्टलेक्चयुअल एकेडेमीमा ‘मम्मी डान्स कम्पिटिसन’

    • lumbinisanjal
    • २०८२ पुष २६, शनिबार २०:५३
    7.6K
    SHARES
    मञ्चमा आमाहरू, दर्शकमा सन्तान : इन्टलेक्चयुअल एकेडेमीमा ‘मम्मी डान्स कम्पिटिसन’

    बुटवल, २६ पुस । सामान्यतया विद्यालयका मञ्चहरूमा बालबालिकाको प्रस्तुति र अभिभावकको ताली नियमित दृश्य हो। तर बुटवल–११ कालिकानगरस्थित इन्टलेक्चयुअल एकेडेमीको प्राङ्गणमा यो दृश्य उल्टिएको देखियो। यसपटक मञ्चमा आमाहरू उत्रिए र दर्शकदीर्घामा आफ्नै सन्तानहरू मन्त्रमुग्ध बने।

    अभिभावकभित्र लुकेर बसेको प्रतिभा उजागर गर्ने र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित विद्यालयले ‘मम्मी डान्स कम्पिटिसन’ आयोजना गरेको हो। प्रतियोगितामा २० जना आमाहरूले सहभागिता जनाउँदै आफ्नो नृत्यकला र आत्मविश्वास प्रस्तुत गरे।
    प्रतियोगितामा सहभागी आमाहरू गृहिणीदेखि कार्यालय र व्यवसायमा संलग्न पेसाकर्मीसम्म थिए। तर मञ्चमा उत्रिँदा उनीहरूको परिचय एउटै थियो—कलाकार। उनीहरूको प्रस्तुतीले उपस्थित दर्शक मात्र होइन, आफ्नै सन्तानहरूलाई समेत गर्व र प्रेरणाले भरिदियो।

    नृत्य कौशल र मञ्चीय प्रस्तुतिका आधारमा गङ्गा भट्टराई प्रथम घोषित हुनुभयो। सीता श्रेष्ठले द्वितीय र सबिता विकले तृतीय स्थान हासिल गर्नुभयो। त्यसैगरी विष्णु पल्ली मगर सान्त्वना र सुधा नेपाली प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनुभयो। यो प्रतियोगिता जित–हारमा मात्र सीमित रहेन, बरु आमाहरूको बहुआयामिक व्यक्तित्व र पहिचानको उत्सव बन्यो।

    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द मरासिनीले भन्नुभयो,“आमाहरू केवल सन्तानको हेरचाह गर्ने पात्र मात्र होइनन्, घर र कार्यक्षेत्र दुवैलाई सन्तुलनमा राख्ने कुशल व्यवस्थापक र विद्यालय संस्कृतिका प्रेरक शक्ति हुन्। आमाहरूको आत्मविश्वासले नै भोलिको पुस्तालाई सक्षम र निडर नागरिक बन्न प्रेरित गर्छ।”

    त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक तथा संस्थापक रामराज पोख्रेलले आमाहरूको सशक्तिकरणले बालबालिकाको सिकाइ प्रक्रियामा सकारात्मक ऊर्जा थप्ने उल्लेख गर्नुभयो।

    कार्यक्रमको संयोजन नबिना पाण्डे मगरले गर्नुभएको थियो भने निर्णायकको भूमिकामा नृत्य निर्देशक विश्वास गुरुङ र दिपा रानाले प्रस्तुतीको मूल्याङ्कन गर्नुभयो। कार्यक्रमको सञ्चालन सिमरन थापा र ब्युटी रसालले गर्नुभएको थियो भने स्वागत समन्वय माया पौडेलले गर्नुभएको थियो।

    इन्टलेक्चयुअल एकेडेमीले आयोजना गरेको यो कार्यक्रमले शिक्षा किताबमा मात्र सीमित हुँदैन भन्ने सन्देश दिएको छ। परिवार र समाजका प्रत्येक सदस्यको क्षमता र योगदानलाई कदर गर्ने माध्यम नै समग्र शिक्षा हो भन्ने उदाहरण यो कार्यक्रम बनेको छ। कार्यक्रममा विद्यार्थीहरूले पनि नृत्य, गीत, कविता लगायत विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।



    lumbinisanjal   
  • २०८२ पुष २६, शनिबार २०:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP