• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको भविष्य आवेगमा होइन, सहमति र संयमतामा खोजिनुपर्छ

    • lumbinisanjal
    • २०८२ पुष २५, शुक्रबार १७:४२
    4.9K
    SHARES
    कांग्रेसको भविष्य आवेगमा होइन, सहमति र संयमतामा खोजिनुपर्छ

    ✍️ माधव के.सी
    यो लेख नेपाली कांग्रेसको अधिवेशनसम्बन्धी वर्तमान सन्दर्भसँग जोडिएको छ । पछिल्लो करिब दुई महिनादेखि नेपाली कांग्रेसभित्र निरन्तर चर्चामा रहेको विषय हो— विशेष महाधिवेशन कि नियमित महाधिवेशन ? यही विषयले आजको दिनमा नेपाली कांग्रेसलाई दुई ध्रुवमा विभाजित गरेको छ।

    लामो रस्साकस्सीपछि एकखालको सहमति बनेको थियो। पुस २६/२८ मा नियमित महाधिवेशन गर्ने भनिए पनि प्राविधिक कारणले त्यो सम्भव नभएपछि केन्द्रीय कार्यसमितिले तत्काल नियमित महाधिवेशन सम्भव नभएको ठहर गर्दै वैशाख २८/३२ का लागि अर्को मिति तय गरी बाँकी कार्य अगाडि बढाउने निर्णय गर्‍यो। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसलाई बिशेष महाधिवेशन हुन नदिने ‘खेल’को रूपमा व्याख्या गर्दै असहमति जनाए।

    जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक घटनाक्रमपछि गगन–विश्वप्रकाश पक्षले विशेष महाधिवेशनको विषयलाई पुनः चर्चामा ल्याए । बाहिरबाट हेर्दा त्यतिबेला विशेष महाधिवेशन खासै सान्दर्भिक नदेखिए पनि नेतृत्वलाई पाखा लगाउने र नेतृत्व हत्याउने अस्त्रका रूपमा विशेष महाधिवेशनको कार्ड प्रयोग गरियो। परिणामस्वरूप करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्न उनीहरू सफल भए ।

    तर परिस्थितिको संवेदनशीलता गम्भीर थियो । विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलिरहेको बेला पार्टी सभापति स्वयं गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। मानवीय र नैतिक हिसाबले समेत त्यो समय यस्तो अभियान चलाउने उपयुक्त थिएन भन्ने मेरो बुझाइ हो।

    म भर्खरै मात्र नेपाली कांग्रेसको क्रियाशील सदस्यताको फाराम भरेर आएको व्यक्ति हुँ। तर नेपाली कांग्रेस र नेपालको राजनीतिबारे सामान्यभन्दा बढी जानकारी राख्ने मान्छे पनि हुँ।

    हस्ताक्षर अभियान चलिरहेकै बेला र आज पनि कांग्रेसभित्र तथा बाहिर धेरैले यसलाई समय सान्दर्भिक नभएको निर्णय भनेर टिप्पणी गरेको मैले सुन्दै आएको छु।

    सिधा रूपमा हेर्ने हो भने जेन–जी आन्दोलनपछि उत्पन्न घटनाक्रमका कारण पार्टी सभापतिमाथि भौतिक तथा सांघातिक आक्रमण भयो। उहाँ गम्भीर घाइते अवस्थामा उपचाररत हुनुहुन्थ्यो। यस्तो बेला “हामी छौँ, तपाईं स्वास्थ्यमा ध्यान दिनुहोस्” भन्नुपर्ने ठाउँमा उल्टै विशेष महाधिवेशनको माग गर्दै विधानअनुसार ४० प्रतिशत हस्ताक्षर जुटाउने अभियान चलाइयो। के यो विषय त्यतिबेला सान्दर्भिक थियो ? गम्भीर प्रश्न यहीँ छ।

    यसमा आ–आफ्ना स्वार्थ पनि जोडिएका थिए, त्यसैले ५४ प्रतिशत प्रतिनिधिहरू हस्ताक्षर गर्न पुगे। गगन–विश्वप्रकाश पक्षले यसलाई नेतृत्व परिवर्तनको बलियो हतियारका रूपमा बुझेर आवश्यक परे प्रयोग गर्ने गरी अगाडि बढाएको देखिन्छ। तर यो गलत समयमा संगठित गरिएको शक्ति थियो भन्ने बुझाइ अहिले धेरैमा देखिन थालेको छ। सायद यही कारणले अहिले कतिपयले हस्ताक्षर फिर्ता लिएको समाचारहरू आइरहेका छन्।

    यदि तपाईंहरू प्रभाव, दबाब वा कुनै स्वार्थ नबुझीकन विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नुभएको हो भने, नियमित महाधिवेशनको बाटोमा फर्किनु नै बुद्धिमानी हुनेछ। यो आदेश होइन, सुझाव मात्र हो। अन्ततः निर्णय तपाईंहरूको अधिकार र विवेकको कुरा हो। तर यो निर्णय नेपाली कांग्रेस र तपाईंहरू स्वयंका लागि पनि हितकर हुनेछ भन्ने मेरो विश्वास हो।

    नेपाली कांग्रेस लामो इतिहास, त्याग र संघर्ष बोकेको पार्टी हो। आवेग, उन्माद, लहड र व्यक्तिगत इगोले चल्ने पार्टी कांग्रेस हुनु हुँदैन। पछिल्लो विशेष महाधिवेशनको मागले यही कमजोरीको झल्को दिन्छ। यस्तो अवस्थामा विशेष महाधिवेशनभन्दा पनि सहमति, संयमता र धैर्य आवश्यक छ।

    रस्साकस्सी चरम अवस्थामा पुगेकाले सबै नेताहरू गम्भीर भएर सोच्न जरुरी छ। कार्यकर्तामा पार्टी फुट्ने हो कि भन्ने चिन्ता बढेको छ। यी सबै चिन्ता, चासोलाई सम्बोधन गर्दै सबै मिलेर नजिकिँदै गरेको निर्वाचनलाई पहिलो प्राथमिकतामा राखी तोकिएको मितिमै नियमित महाधिवेशन गर्ने सहमतिमा पुग्नु आजको आवश्यकता हो।

    नेपाली कांग्रेस कमजोर होस् भनेर चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थ समूहलाई निराश बनाउँदै यो महाधिवेशनलाई सङ्कल्प महाधिवेशनमा रूपान्तरण गर्नु नै आज र भोलिको कांग्रेसका लागि उचित निर्णय हुनेछ। यस सन्दर्भमा स्व. शुसिल कोइरालाको सहमति, सहकार्य र एकताको नीतिलाई स्मरण गर्दै नियमित महाधिवेशनको बाटोबाटै अगाडि बढ्न सम्पूर्ण अग्रज नेता र महाधिवेशन प्रतिनिधिज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु।
    जय नेपाल



    lumbinisanjal   
  • २०८२ पुष २५, शुक्रबार १७:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP