• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    चिसो मौसममा कस्ता खानेकुरा खाने ?

    • lumbinisanjal
    • २०८२ कार्तिक ११, मंगलवार ११:२९
    2.7K
    SHARES
    चिसो मौसममा कस्ता खानेकुरा खाने ?

    पोषणबिद अरुणा उप्रेती ।

    चिसो मौसम सुरु भइसकेको छ । जाडो मौसममा पहिलेदेखि नै स्वास्थ्यमा समस्या भएका, दम, उच्च रक्तचाप भएका मानिसहरूको समस्या झनै बढेर जान्छ । विशेष गरी बालबालिका र वृद्धवृद्धालाई चिसो मौसममा छातीको समस्या हुन सक्छ । समयमै हेरविचार गरिएन भने चिसो बिग्रिएर निमोनियासमेत हुन सक्छ । यस्तो अवस्थामा शरीरलाई स्वस्थ राख्न खानपानमा विशेष ध्यान दिनुपर्ने पोषणविद् अरुणा उप्रेती बताउँछिन् ।

    चिसो मौसममा शरीरले तातो खोज्छ । शरीरमा तातोपना ल्याउनका लागि तातो झोल खानुपर्ने पोषणविद् उप्रेती बताउँछिन् । उनले भनिन्, ‘तातोपानी मात्रै खानुपर्छ भन्ने छैन, दूध नहालेको चिया खान सकिन्छ, दूधमा बेसार हालेर, कागतीमा मह हालेर खान सकिन्छ, टुसा उम्रेका गेडागुडीको झोल, दालको झोल खान सकिन्छ ।’

    बारम्बार तातो झोल खाए यसले शरीरमा थुप्रै फाइदा गर्ने पनि उनले बताइन् । ‘यसले शरीरमा पानीको मात्रा बढाउनुका साथै तागत बढाउँछ र रुघाखोकी लागेको छ भने पनि पिसाबबाट बगेर जान्छ,’ उप्रेतीले भनिन् ।

    कस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ?

    हामी घरभित्रै रहेका पोषिला खानेकुरालाई बेवास्ता गरेर बाहिरका फास्टफुडमा लोभिन्छौँ । यसले हाम्रो शरीरमा राम्रो होइन, बेफाइदा मात्रै गर्छ । कागतीमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । विभिन्न फलफूलहरू अमला, सुन्तला, अम्बा र तुलसीको पत्ताले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । उप्रेतीले भनिन्, ‘हाम्रो घरआँगनमै पाइने तुलसीको पत्ताले सामान्य रुघाखोकी लागेकालाई फाइदा गर्नुका साथै रोगसँग लड्ने क्षमतासमेत बढाउँछ । यस्ता पोषिला खानेकुरालाई छोडेर जंकफुड खान हुँदैन ।’

    सांस्कृतिक चलनले नै जाडोमा के खाने भनेर सिकाउँछ

    हाम्रो देश संस्कृति र परम्पराका लागि धनी छ । परापूर्वकालदेखि नै मनाइँदै आइएका थुप्रै चाडपर्व, सांस्कृतिक चलनअनुसार खाइने खानेकुराले नै हामीलाई जाडोबाट जोगाउने गरेको पोषणविद् उप्रेतीले बताइन् । माघे संक्रान्तिका दिन खाइने घ्यु, चाकु, तिलको लड्डु, शखरखण्ड, खिचडी शरीरका लागि निकै फाइदाजनक छ । खिचडीमा दही मिसाएर खाए यसले रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउने गरेको पोषणविद् उप्रेतीको भनाइ छ ।

    यसैगरी, यमरी पूर्णिमाको दिन चामलको पिठोभित्र खुवा वा चाकु राखेर बनाइने यमरीले पनि जाडो मौसममा धेरै फाइदा गर्ने गर्छ । ‘माघे संक्रान्तिका दिन खाइने खानेकुरा, यमरी पूर्णिमामा खाइने यमरी, जनैपूर्णिमा पाक्ने क्वाँटी, यी सबै खानेकुराले हाम्रो शरीरमा तातो दिने गर्छ । जनैपूर्णिमापछि क्वाँटी खान छोडिन्छ । तर, चिसो मौसममा टुसा उम्रिएको गेडागुडीको झोल निकै पोषणयुक्त हुन्छ । हामीले यसलाई बिर्सिनु हुँदैन,’ उनले भनिन् ।

    कस्ता खानेकुरा नखाने ?

    चिसो मौसममा अति चिल्लो, भुटेका तारेका खानेकुराहरू र फ्रिजमा राखिएको चिसो खानेकुरा, कोल्ड ड्रिंक्स, बट्टामा आउने फलफूलका जुसहरू खान नहुने पोषणविद् उप्रेती बताउँछिन् ।

    उनले भनिन्, ‘कतिपय आमाबुबालाई बट्टामा आउने फलफूलको जुस पोसिलोजस्तो लाग्छ, तर त्यसो होइन । यस्तो खानेकुरामा पर्याप्त मात्रामा चिनी हुन्छ र यसले रोगसँग लड्ने क्षमता झनै घटाउँछ ।’ फलफूलको जुसको सट्टामा सिङ्गो फलफुल नै खानुपर्नेमा उनले जोड दिएकी छिन् । खानेकुराका साथसाथै शारीरिक ब्यायाममा समेत ध्यान दिनुपर्ने र तातो, न्यानो कपडा लगाउनुपर्ने उनको भनाइ छ ।

    ‘खानपानले मात्रै चिसोबाट जोगिन्छ भन्ने होइन । हामीले लगाउने कपडामा पनि उत्तिकै ध्यान दिनुपर्छ । रुघाखोकी असामान्य भयो, ज्वरो धेरै आयो भने घरायसी उपचारकै भरमा भने बस्नु हुँदैन । बेलैमा चिकित्सकहाँ गएर जँचाइहाल्नुपर्छ,’ उनले भनिन् ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ११, मंगलवार ११:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP