• २०८३ आश्विन ४ | Sun, 20 Sep 2026
  • Dark Mode

          Subscribe

    पार्टी आस्थाभन्दा माथि उठेर धुर्कोट गाउँपालिकालाई हेर्दा

    • lumbinisanjal
    • २०८३ भाद्र ३१, बुधबार १२:३३
    299
    SHARES
    पार्टी आस्थाभन्दा माथि उठेर धुर्कोट गाउँपालिकालाई हेर्दा

    देशको पश्चिमी क्षेत्रमा पर्ने लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको पश्चिम भागमा अवस्थित धुर्कोट गाउँपालिका आफैंमा अब्बल गाउँपालिकाका रूपमा परिचित छ। विभिन्न जातजाति, धर्म, पेसा, सामाजिक मूल्य–मान्यता र परम्परालाई आत्मसात् गर्दै आएका नागरिकको बसोबास रहेको यस गाउँपालिकामा ७ वटा वडा रहेका छन्।

    देशभरका गाउँपालिकामाझ विभिन्न क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै नमुना गाउँपालिकाका रूपमा पहिचान बनाउन सफल धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, राजनीतिकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
    विशेषतः धुर्कोट गाउँपालिका विगतदेखि नै शिक्षा, स्वास्थ्य, यातायात तथा विकास निर्माणका क्षेत्रमा छिमेकी पालिकाको तुलनामा अगाडि रहेको गाउँपालिका हो। शिक्षा र राजनीतिमा समेत यस गाउँपालिकाको उल्लेख्य योगदान रहँदै आएको छ। यही पालिकाबाट २ जना व्यक्तिले सांसदको भूमिका निर्वाह

    गरिसक्नुभएको छ—नेपाली कांग्रेसबाट स्व. रुद्रमणि शर्मा भण्डारी र नेकपा एमालेबाट टंक पोखरेल।

    त्यसैगरी, यस पालिकाबाट धेरै व्यक्तिहरू नेपाल सरकारका विभिन्न तहमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनुभएको छ। लोकसेवामा समेत धुर्कोटले आफ्नो प्रभाव र वर्चस्व कायम राख्दै नयाँ पुस्तालाई निरन्तर उत्प्रेरित गरिरहेको छ।

    यिनै उपलब्धि र सम्भावनालाई आत्मसात् गर्दै समग्र धुर्कोट गाउँपालिकाको हकहित, विकास र समृद्धिका लागि आफ्ना स्पष्ट एजेन्डा प्रस्तुत गर्ने उद्देश्यका साथ आगामी स्थानीय निर्वाचनमा धुर्कोट गाउँपालिकाको नेतृत्व गर्न तयारीमा रहेका विभिन्न राजनीतिक दलका इच्छुक उम्मेदवारहरूलाई मेरो सानो अनुरोध :
    • झोला बोक्दैमा नेता बनिँदैन, आफ्ना स्पष्ट एजेन्डा र योजना लिएर जनतामाझ प्रस्तुत हुनुहोस्।
    • यो प्रदेश वा प्रतिनिधिसभाको निर्वाचन होइन। स्थानीय तहको निर्वाचनको प्रकृति र जिम्मेवारी फरक हुन्छ भन्ने कुरालाई समयमै बुझेर आफ्नो लक्ष्य प्राप्तिका लागि तयारी गर्नुहोस्।
    • उमेरले मात्रै युवा बनिँदैन। सोच, विचार, धैर्यता, समन्वयकारी भूमिका, स्थानीय स्तरमा व्यक्तिको प्रभाव, प्रविधिसँगको निकटता र राजनीतिक संस्कारजस्ता विषयले पनि नेतृत्वमा ठूलो अर्थ राख्छन्।
    • राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने यथार्थलाई आत्मसात् गर्दै समय र परिस्थितिअनुसार आवश्यक निर्णय लिन तथा सही निर्देशन दिन सक्ने क्षमता विकास गर्नुहोस्।
    • समग्र धुर्कोटको हकहितका लागि अग्रजहरूको सुझाव–सल्लाह, सामाजिक, राजनीतिक तथा बौद्धिक व्यक्तित्वहरूको सहभागिता र हरेक काममा पारदर्शितालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुहोस्।
    • अग्रजको सम्मान, सानालाई माया र आधार तथा समकक्षीसँग आत्मीयता भन्ने भावनालाई आत्मसात् गर्दै कार्यसम्पादन गर्नुहोस्।
    • ७ वटै वडालाई समान रूपमा जिम्मेवार र सक्रिय बनाउँदै, विशेषगरी आम नारीहरूको सेवा, सम्मान र सहभागितालाई प्राथमिकतामा राखी आवश्यक नीति तथा निर्देशन गर्न पछि नहट्नुहोस्।
    • शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युत् तथा दैनिक उपभोग्य वस्तुजस्ता आधारभूत आवश्यकताहरू प्रत्येक नागरिकको सहज पहुँचमा पुर्‍याउने गरी स्पष्ट योजना र प्रभावकारी कार्यान्वयनमा जोड दिनुहोस्।
    अन्ततः, “म शासक होइन, सेवक हुँ” भन्ने भावनालाई आत्मसात् गर्दै जनताको सेवामा समर्पित भएर अगाडि बढ्नुहोस्।
    धुर्कोटको समग्र विकास, समृद्धि र उज्ज्वल भविष्यका लागि नेतृत्व गर्न तयारीमा रहनुभएका सबैलाई हार्दिक शुभकामना। 🌺
    नोट : राजनीतिक आस्था र दलअनुसार उम्मेदवारको टुंगो लागेपछि बाँकी विषयमा आवश्यक लेख तथा प्रचार–प्रसार गर्दै जानेछौँ।

    विशाल भण्डारी
    धुर्कोट गाउँपालिका, गुल्मी
    हाल : जापान 🇯🇵



    lumbinisanjal   
  • २०८३ भाद्र ३१, बुधबार १२:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP