• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रवि-बालेन सहमति : पार्टी सभापति रवि, प्रधानमन्त्रीको उमेदवार बालेन

    • lumbinisanjal
    • २०८२ पुष १३, आईतवार ०५:३५
    1.3K
    SHARES
    रवि-बालेन सहमति : पार्टी सभापति रवि, प्रधानमन्त्रीको उमेदवार बालेन

    काठमाडौं,१३ पुस  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार (पुस १३) बिहान (राति) सहमति भएको हो ।

    आइतबार बिहान भएको सहमतिपत्रमा रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी रहने भएको छ ।

    दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।

    उनीहरूले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    त्यस्तै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने पनि सहमति भएको छ ।

    एकतापछि राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र  दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिह्न घण्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति पनि भएको छ ।

    बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने पनि सहमति भएको छ ।

    यो सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने पनि सहमति भएको छ ।



    lumbinisanjal   
  • २०८२ पुष १३, आईतवार ०५:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP