• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    अस्पताल लाइनमा ठेला र अटो रिक्साको रजगज, एम्बुलेन्सदेखि बिरामीसम्मलाई सास्ती

    • lumbinisanjal
    • २०८२ पुष ४, शुक्रबार १६:५२
    2.3K
    SHARES
    अस्पताल लाइनमा ठेला र अटो रिक्साको रजगज, एम्बुलेन्सदेखि बिरामीसम्मलाई सास्ती

    बुटवल,०४ पुस ।  बिरामी र बिरामी बोकेका एम्बुलेन्स निर्वाध दौडाउनुपर्ने सडकमा फलफूललगायतका ठेला र अटो रिक्साको रजगज बढ्दा बुटवलको अस्पताल लाइन क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवामा गम्भीर अवरोध सिर्जना भएको छ।

    बुटवल उपमहानगरपालिका वडा नं. ६ अन्तर्गत पर्ने अस्पताल लाइन क्षेत्र अस्पताल, मेडिकल क्लिनिक, फार्मेसी तथा ल्याबहरूको केन्द्र मानिन्छ। दिनहुँ ठूलो संख्यामा बिरामीको आवागमन हुने यस क्षेत्रमा ठेलावालाको ठेलमठेल, भीडभाड र तानातानका कारण उपचारका लागि हिँडेका बिरामी तथा उनीहरूका आफन्तलाई अनावश्यक झन्झट व्यहोर्नु परेको औषधि व्यवसायी तथा मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले बताउनुभयो।

    उहाँका अनुसार उपचारमा गएका बिरामीका लागि शान्त र अवरोधरहित वातावरण हुनुपर्ने हो भने आकस्मिक उपचारका बिरामी बोकेका एम्बुलेन्सलाई सडकमा कुनै प्रकारको अवरोध हुनु हुँदैन। तर अस्पताल लाइन क्षेत्रमा बिरामीभन्दा पनि ठेलावालाले आफूहरूलाई प्राथमिकतामा राखेर व्यवहार गर्ने प्रवृत्ति बढ्दै गएको रुपन्देही सिटी स्क्यानका सञ्चालक तथा समाजसेवी दीपु केसीले बताउनुभयो।

    ‘पहिले अवस्था केही कम थियो, तर जेन–जी आन्दोलनपछि जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति विकास भएको छ,’ मेलान रुपन्देहीका अध्यक्ष पौडेलले भन्नुभयो, ‘नियामक निकायको नियमन र अनुगमन कमजोर हुँदा समस्या झनै जटिल बनेको छ, अब कडाइ गर्नैपर्छ।’

    यसैबीच, बुटवल उपमहानगरपालिकाले रिक्साका साथै ठेलाको व्यवस्थापन र वेथिति नियन्त्रणका लागि बेला–बेला अनुगमन गर्दै आए पनि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या यथावत् रहेको बताइएको छ। अनुगमन कमजोर हुँदा ठेला र रिक्साले ‘जे गरे पनि हुन्छ’ भन्ने मानसिकता विकास गरेको सरोकारवालाको भनाइ छ।

    ठेलावालाको यस रजगजले स्वास्थ्य सेवा प्रभावित हुनुका साथै सरकारी राजस्वमा समेत असर परेको छ। दर्ता विना सडकमा व्यापार गर्ने ठेलावालाले राजस्व नतिर्ने र दर्ता भई कर तिरेर व्यवसाय गर्दै आएका व्यापारीको व्यापारमा नकारात्मक प्रभाव पार्ने भएकाले ठेला व्यवसायलाई दर्ता प्रक्रियामा ल्याई व्यवस्थित गर्नुपर्ने अस्पताल लाइनका किराना व्यवसायी तथा किराना व्यवसायी संघ रुपन्देहीका नि. अध्यक्ष महेन्द्र पोखरेलले बताउनुभयो।

    उहाँका अनुसार दर्ता प्रक्रियामा आउन र व्यवस्थित हुन नमानेमा अस्पताल लाइनजस्ता संवेदनशील क्षेत्रमा ठेला व्यवसाय सञ्चालनमै रोक लगाउनुपर्ने आवश्यकता देखिएको छ।

     



    lumbinisanjal   
  • २०८२ पुष ४, शुक्रबार १६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP