• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोटको ‘विचित्र गुफा’ : संरक्षण अभावमा ओझेलमा परेको अद्भुत प्राकृतिक सम्पदा

    • lumbinisanjal
    • २०८२ कार्तिक १४, शुक्रबार १०:४२
    2.4K
    SHARES
    धुर्कोटको ‘विचित्र गुफा’ : संरक्षण अभावमा ओझेलमा परेको अद्भुत प्राकृतिक सम्पदा

    टोपलाल अर्याल/गुल्मी, १४ कात्तिक। प्राकृतिक रूपमा दुई दर्जनभन्दा बढी कला र आकृतिले सजिएको विचित्र गुफा प्रकृतिको अनुपम उपहार हो। धुर्कोट गाउँपालिका–५ वस्तुको जङ्गलमा फेला परेको यो गुफा साढे तीन दशकअघि पत्ता लागे पनि संरक्षण र उचित विकासको अभावमा अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन।

    सदरमुकाम तम्घासबाट करिब ४५ मिनेट टाढा पर्ने यो गुफा तम्घास–सिमलटारी सडकखण्डबाट करिब १५ मिनेटको दूरीमा पर्छ। गुफासम्म पुग्ने बाटो कच्ची छ र अझै व्यवस्थित पार्किङको व्यवस्था भएको छैन।

    स्थानीयवासीका अनुसार धार्मिक कला र आकृतिका आधारमा यो गुफा नेपालकै ठूलो गुफा हुन सक्ने सम्भावना छ। तर, राज्यको तर्फबाट अनुसन्धान र लगानीको कमीका कारण यसको वास्तविक क्षमता अझै अन्वेषण हुन सकेको छैन।

    गुफाभित्र भेटिएका संरचनाहरूमध्ये ‘सभाहल’, ‘राम–जानकी आश्रम’, ‘शिवालय’, ‘स्वर्ग जाने बाटो’ लगायत नाम दिइएका स्थानहरू छन्। झण्डै १५० मिटरभित्र रहेको विशाल सभाहलमा करिब दुई सय जना सहजै अट्ने व्यवस्था छ, जहाँ विभिन्न संघ–संस्थाले सभा तथा बैठकसमेत गर्ने गरेका छन्।

    सभाहल वरिपरि शिवलिङ्ग, राम–कृष्ण, नाग, गोपीकृष्ण, जटायुलगायतका आकृतिहरू रहेका छन्, जसले गुफालाई धार्मिक र सांस्कृतिक दृष्टिले समेत आकर्षक बनाएको छ। सभाहलको छानामा रहेका कलात्मक बुट्टामध्ये बीचमा रातो माटोले पोतेर बनाइएको मण्डप पनि विशेष आकर्षणको विषय बनेको छ।

    धुर्कोट गाउँपालिका–५ का वडाध्यक्ष केशव भण्डारीका अनुसार २०६२–०६३ सालअघि गुफा पुग्न जोखिमपूर्ण बाटो फड्केर जानु पर्ने अवस्था थियो। पछिल्ला वर्षमा स्थानीय, रुरु–रेसुङ्गा संरक्षण समिति र तीनै तहका सरकारबाट पूर्वाधार र संरक्षणका केही काम भइरहेका छन्।

    गाउँपालिका प्रमुख भूपाल पोखरेलका अनुसार विचित्र गुफा, ऐतिहासिक धुर्कोटको कोट, शहीदपार्क र बुढीकोट पैदलमार्गलाई एकीकृत विकास गर्दै रिङरोड निर्माणको काम अघि बढाइएको छ।

    प्राकृतिक र धार्मिक दुवै दृष्टिले महत्त्वपूर्ण यो गुफा पर्यटनको दृष्टिले विकास गर्न सकिए धुर्कोट गाउँपालिकाको समृद्धिको आधार बन्न सक्ने सम्भावना स्थानीयले व्यक्त गरेका छन्। गुफाको प्रचार–प्रसारका लागि सूचना केन्द्र समेत स्थापना गरिएको छ।

    फ्रान्ससहितका विदेशी पर्यटकहरू पनि पटक–पटक यहाँ पुग्ने गरेका छन्। अरबिन्द आश्रमका प्रमुख स्वामी रामचन्द्र दासका अनुसार योग र साधनका लागि बर्सेनी सयौँ विदेशी पर्यटक आउने भएकाले जिल्लाका पर्यटकीय स्थलहरू जोड्ने प्रयास भइरहेको छ।

    ‘विचित्र गुफाको प्राकृतिक बिचित्रताले विदेशी पर्यटकहरू निकै चकित र खुसी हुन्छन्,’ स्वामी दासले भन्नुभयो।



    lumbinisanjal   
  • २०८२ कार्तिक १४, शुक्रबार १०:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP