• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    गुल्मी छत्रकोट–५ खरज्याङ रुपन्देही सम्पर्क समाजको धार्मिक तीर्थयात्रा सफलतापूर्वक सम्पन्न

    • lumbinisanjal
    • २०८३ बैशाख २९, मंगलवार ११:५१
    7.8K
    SHARES
    गुल्मी छत्रकोट–५ खरज्याङ रुपन्देही सम्पर्क समाजको धार्मिक तीर्थयात्रा सफलतापूर्वक सम्पन्न

    बुटवल ,२९ वैशाख । गुल्मी छत्रकोट गाउँपालिका–५ खरज्याङ रुपन्देही सम्पर्क समाजद्वारा आयोजित धार्मिक तीर्थयात्रा सफलतापूर्वक सम्पन्न भएको छ । समाजसँग आबद्ध छत्रकोट–५ खरज्याङका तीर्थयात्रीहरूलाई समेटेर सञ्चालन गरिएको उक्त यात्रा वैशाख २५ गते बिहान खरज्याङ तथा बुटवलबाट सुरु भएको थियो ।

    तीन दिनसम्म सञ्चालन भएको धार्मिक तथा पर्यटकीय यात्राका क्रममा सहभागीहरूले विभिन्न धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व बोकेका स्थलहरूको दर्शन, अवलोकन तथा पूजा–आराधना गरेका थिए । यात्राको सुरुवातसँगै तीर्थयात्रीहरूले बागलुङ कालिका मन्दिरमा पूजा–आराधना गरेका थिए भने त्यसपछि म्याग्दीको प्रसिद्ध तातोपानी, रमणीय रुप्से झरना हुँदै हिमाली जिल्ला मुस्ताङ प्रवेश गरेका थिए ।

    यात्राका क्रममा जोमसोम तथा कागबेनीमा पुगेर पितृहरूको सम्झनामा श्राद्ध तथा पिण्डदान गरिएको थियो । त्यसपछि नेपालको चारधाममध्ये एक महत्वपूर्ण धार्मिक धाम मुक्तिनाथ मन्दिरमा पुगेर दर्शन तथा विशेष पूजा गरिएको समाजले जनाएको छ ।

    मुक्तिनाथ दर्शनपश्चात् तीर्थयात्रीहरूले मार्फा गाउँको भ्रमण गर्दै गलेश्वर मन्दिरमा दर्शन गरेका थिए । त्यसैगरी पोखरामा पुगेर फेवाताल अवलोकन, तालबाराही मन्दिर तथा बिन्दवासिनी मन्दिरमा दर्शन गरी विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण सम्पन्न गरिएको थियो । यात्राका क्रममा सहभागीहरूले हिमाली तथा पहाडी क्षेत्रका प्राकृतिक दृश्य, नदी, झरना तथा सांस्कृतिक सम्पदाको समेत अवलोकन गरेका थिए ।

    वैशाख २७ गते बुटवल तथा खरज्याङ फर्किएसँगै तीनदिने धार्मिक तीर्थयात्रा सफलतापूर्वक सम्पन्न भएको समाजले जनाएको छ । यात्रामा सहभागी तीर्थयात्रीहरूले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको अनुभूति गरेको बताएका छन् ।

    समाजका अध्यक्ष बिष्णु प्रसाद पन्थले धार्मिक आस्था, आपसी सद्भाव तथा समाजलाई एकताबद्ध बनाउने उद्देश्यले तीर्थयात्रा आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले यात्रा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, समाजसेवी, शुभेच्छुक तथा सहभागी तीर्थयात्रीहरूप्रति आभार व्यक्त गर्नुभयो ।

    त्यसैगरी समाजका सचिव सारदा कंडेल पाण्डे तथा सह–सचिव दामोदर पौडेलले धार्मिक तीर्थयात्राले समाजका सदस्यहरूबिच आत्मीयता, धार्मिक चेतना तथा आपसी सम्बन्ध अझ मजबुत बनाएको उल्लेख गर्दै आगामी दिनमा यस्ता सामाजिक तथा धार्मिक कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।



    lumbinisanjal   
  • २०८३ बैशाख २९, मंगलवार ११:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP