• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रेसुङ्गा नगरपालिकाले खोज्दै छ लगानीका सम्भाव्य क्षेत्र : पर्यटन, कृषि र होटल व्यवसायमा जोड

    • lumbinisanjal
    • २०८२ कार्तिक १२, बुधबार १९:४८
    2K
    SHARES
    रेसुङ्गा नगरपालिकाले खोज्दै छ लगानीका सम्भाव्य क्षेत्र : पर्यटन, कृषि र होटल व्यवसायमा जोड

    गुल्मी , १२  कात्तिक । रेसुङ्गा नगरपालिकाले नगरभित्रका सम्भाव्य लगानी क्षेत्र पहिचान गर्ने उद्देश्यले विशिष्ट व्यक्तित्वहरू, उद्योगी–व्यवसायी र गैरआवासीय नेपालीहरूसँग अन्तर्क्रिया सुरु गरेको छ।

    गुल्मी उद्योग सङ्घका महासचिव सुदर्शन खनालले लगानीका सम्भाव्य क्षेत्र, अवसर र चुनौतीका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले नगरपालिकाले मानवीय केन्द्रित सडक विस्तार, शिक्षा र स्वास्थ्यमा सहयोग, र “जाउँ हिँड रेसुङ्गा” अभियानमार्फत उदाहरणीय कार्य गर्दै आएको बताउनुभयो।

    खनालका अनुसार अहिले पर्यटन क्षेत्रमा लगानीको आवश्यकता अत्यधिक छ, र त्यसका लागि निजी क्षेत्रका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष कमल पन्थी र एनआरएन माल्टाका अध्यक्ष रेमलाल खनाललाई नगरपालिकाले सम्मान गरेको थियो। पन्थीले मातृभूमिमा लगानी गर्न उत्साहित रहेको बताउँदै वातावरण अनुकूल भए पर्यटन र अन्य क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै, रेमलाल खनालले रेसुङ्गालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन होटल व्यवसायमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो।

    गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले पर्यटन र कृषि क्षेत्रमा लगानी साझेदारी गर्न आफूहरू तयार रहेको बताए।

    रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष श्रीप्रसाद भलामीले देशमा लगानीको सुरक्षा नहुँदा सम्भाव्यता अध्ययन मात्र सीमित भइरहेको बताउँदै रेसुङ्गाको प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो।

    त्यस्तै, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले धार्मिक पर्यटनमा ठूलो सम्भावना रहेको भन्दै सबैको सहकार्यमा रेसुङ्गाको विकास सम्भव हुने बताउनुभयो।

    अन्तर्क्रियामा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले नीतिगत समस्या समाधानसहित ठोस कार्ययोजना र साझा सोच आवश्यक रहेकोमा जोड दिएका छन्।

    कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्थानीय सरकारको तर्फबाट लगानीकर्तालाई लगानी सुरक्षाको ग्यारेन्टी दिने बताउँदै आत्मविश्वासका साथ योजनाहरू अघि बढाउन आग्रह गर्नुभयो।



    lumbinisanjal   
  • २०८२ कार्तिक १२, बुधबार १९:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP