• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बीपीको स्मृतिमा रुपन्देहीमा वृक्षारोपण, शालिकमा माल्यार्पण र आश्रममा सेवा

    • lumbinisanjal
    • २०८२ श्रावण ६, मंगलवार १२:३८
    5.8K
    SHARES
    बीपीको स्मृतिमा रुपन्देहीमा वृक्षारोपण, शालिकमा माल्यार्पण र आश्रममा सेवा

    रुपन्देही, ०६ साउन । नेपाली काँग्रेसले संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा रुपन्देहीमा विविध कार्यक्रम सम्पन्न गरेको छ। बीपी स्मृति दिवसको अवसरमा मंगलबार काँग्रेसले बृक्षरोपण, शालिकमा माल्यार्पण र सहयोगापेक्षीलाई खाना खुवाउने कार्यक्रम गरेको हो।

    तिलोत्तमा नगरपालिका–८ स्थित करहीया सामुदायिक बनमा नेपाली काँग्रेस रुपन्देहीको आयोजनामा बृक्षरोपण गरिएको थियो। कार्यक्रममार्फत ५ सयभन्दा बढी टिकलगायतका प्रजातीका विरुवा रोपिएको सभापति रामकृष्ण खाँणले जानकारी दिनुभयो। उहाँले रोपिएका विरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने व्यवस्थापन मिलाइएको पनि बताउनुभयो।

    कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक र गंगा शाहीले बीपीको विचार, सिद्धान्त र आदर्श सिङ्गो समाजकै लागि प्रेरणादायी रहेको धारणा राख्नुभयो। सभापति खाँणका अनुसार बीपी स्मृति दिवसमा हरेक वर्ष काँग्रेसले बृक्षरोपण गर्दै आएको छ।

    कार्यक्रममा पूर्वसभापति रामचन्द्र ढकाल, कोषाध्यक्ष हरिप्रसाद अर्याल, सचिव हरि काफ्ले, तिलोत्तमा नगरसभापति हरिलाल पाण्डे लगायतले पनि सम्बोधन गर्नुभयो। अध्यक्ष पाण्डेले संरक्षणको जिम्मा सामुदायिक बन उपभोक्ता समितिले लिने प्रतिबद्धता जनाउनुभयो।

    यसै अवसरमा नेपाली काँग्रेस बुटवल नगर समितिले बीपी चोकस्थित शालिकमा माल्यार्पण गरेको छ। नगर सभापति खेलराज पाण्डेका अनुसार बीपीको योगदानको सम्झनामा प्रत्येक वर्ष यो कार्यक्रम गरिन्छ।

    यस्तै, काँग्रेस रुपन्देही क्षेत्र नं. ३ ले मानव सेवा आश्रममा आश्रितहरुलाई बिहानको खाना खुवाउनुका साथै आश्रमलाई फ्रिज प्रदान गरेको छ। क्षेत्रीय सभापति सुशिल गुरुङले जानकारी दिनुभयो।

    साँझपख नेपाली काँग्रेस क्षेत्र नं. २ ले बुटवलमा बीपी स्मृति साहित्य साँझ आयोजना गरेको थियो। कार्यक्रममा साहित्यकारहरूले बीपीप्रति समर्पित रचनाहरू प्रस्तुत गरेका थिए। क्षेत्रीय सभापति प्रजापाल गिरीले बीपीको योगदानबारे स्मरण गर्न साहित्यिक माध्यम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

    बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो। २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत जितेपछि उहाँ प्रधानमन्त्री बन्नुभएको थियो। राष्ट्रियता, प्रजातन्त्र र समाजवादका पक्षमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

    उहाँको कार्यकालमा बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको’ सिद्धान्तअनुसार भूमिसुधारको थालनी भएको थियो। साहित्यमा पनि उहाँको योगदान महत्त्वपूर्ण रह्यो। मनोवैज्ञानिक यथार्थवादका प्रवर्तक मानिने बीपीको निधन २०३९ साल साउन ६ गते भएको थियो।

    शाही सेनाले विसं २०१७ मा उहाँको सरकार अपदस्त गरेपछि उहाँसहित नेताहरूलाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। विसं २०२५ मा जेलमुक्त भई भारतमा आठ वर्ष निर्वासनमा रहँदा पनि उहाँले प्रजातन्त्र र राष्ट्रियताको पक्षमा सङ्घर्ष गर्नुभयो। २०३३ मा ‘राष्ट्रिय एकता र मेलमिलाप’को नीति लिएर स्वदेश फर्कनुभएको थियो।

     



    lumbinisanjal   
  • २०८२ श्रावण ६, मंगलवार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP