• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    होली: प्रेम, मेलमिलाप, एकता र सहिष्णुताको पर्व

    • lumbinisanjal
    • २०८१ फाल्गुन २९, बिहीबार १३:३०
    5.4K
    SHARES
    होली: प्रेम, मेलमिलाप, एकता र सहिष्णुताको पर्व

    हिन्दु धर्मालम्विहरुको महत्त्वपूर्ण चाड मध्ये होली पनि एक हो । फाल्गुण पूर्णिमाको दिन मनाइने यो पर्व विजय र प्रेमको प्रतीकको रूपमा मनाइने गरिन्छ । यो पर्व हिन्दु धर्मका अतिरिक्त बौद्ध, इसाई र मुस्लिम समुदायमा समेत सांस्कृतिक सौहार्दता र उल्लासका साथ मनाउने गरिन्छ । नेपालको पहाडी भु-भागमा फागुन पूर्णिमाको दिन र तराइ क्षेत्रमा पूर्णिमाको अर्को दिन रंङहरु साटासाट गर्दै यो पर्व मनाउने गरिन्छ । नेपाल,भारत,भुटान,पाकिस्तान, श्रीलंका, मौरिसस फिजी, ट्रिनिडाड एण्ड टोवागो,अमेरिका,क्यानडा, अष्ट्रेलिया र बेलायत सम्मका आप्रवासी हिन्दु समुदायले सांस्कृतिक उत्सवका रूपमा होली पर्वलाई मनाउने प्रचलन रहेको छ ।

    होलीको ऐतिहासिक महत्वस् होलीको ऐतिहासिक पृष्ठभूमि खोज्दै जाँदा हिरण्यकश्यपु र भगवान् विष्णुको युद्ध प्रसंगको चर्चा गर्नुपर्ने हुन्छ । बाबु कश्यप ऋषि र आमा दीतीका सन्तानका रूपमा हिरण्यकश्यपु र हिरण्याक्षको जन्म भएको थियो । ऋषीकुलमा जन्म भएता पनि उनीहरू दैत्यको रूप धारण गरेका थिए । हिरण्याक्षले भगवान् ब्रह्माको तपस्या गरेर निकै शक्तिशाली र बलशाली हुने बरदान पाएका थिए । त्यही शक्तिशाली र बलशालीको अहंकारले गर्दा देवता तथा ऋषिहरूलाई सताउने, पृथ्वीलाई समुद्रमा डुबाएर पातल लोकमा लगिदिएर सम्पूर्ण संसारमा असन्तुलन ल्याएपछि भगवान् विष्णुले बराह अवतार लिएर पृथ्वीलाई समुद्रबाट उठाए अनि हिरण्याक्ष सँग हजारौँ वर्षसम्म भयांकर युद्ध गरे । अनि विष्णुले हिरण्याक्षलाई मारिदिए । पृथ्वीको उद्धार गरे । हिरण्याक्षको अधर्म र अत्याचार रोकी सत्य र न्यायको स्थापना गरे ।

    आफ्नो भाइ हिरण्याक्षको मृत्युपछि हिरण्यकश्यपुमा भगवान् विष्णु प्रति गहिरो घृणा र वैरभाव पैदा भयो । उनले पनि भगवान् वर्माको कठोर तपस्या गरे । उनको तपस्यावाट भगवान् वर्माले के वर माग्छौ माग भन्दा यस लोकमा कुनै पनि प्राणी, शस्त्र अस्त्र, र कोही कसैबाट पनि मर्न नसक्ने बरदान पाए । त्यसपछि उनी अत्यन्तै अहंकारी र घमण्डी बन्दै गए उनले आफ्नो राज्यमा भगवान् विष्णुको पूजा गर्न निषेध गर्दै गए । र आफूलाई नै भगवान् घोषणा गरे ।

    हिरण्यकश्यपुका छोरा प्रह्लाद भने भगवान् विष्णुका परम भक्त थिए । उनले भगवान् विष्णुको उपसना गर्ने गर्दथे । हिरण्यकश्यपुले आफ्नो छोरा प्रह्लादलाई भगवान् विष्णुको भक्ति त्याग्न पटक पटक आग्रह गर्दा पनि बुवाको आदेशको अवज्ञा गर्दै विष्णु भगवानको भक्ति त्यागेनन् । जुन कारणले प्रह्लादलाई भगवान् विष्णुको संरक्षण प्राप्त भयो । अनेकन प्रयास गर्दा समेत प्रह्लादले भगवान् विष्णुको भक्ति नत्यागेपछि हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई बोलाएर प्रह्लादलाई आगोमा जलाउने योजना बनाए । होलिका आफूलाई आगोमा जलाउन बाट बचाउने वस्त्र लगाएर प्रह्लादलाई काखमा लिएर आगोमा बसिन् । तर भगवान् विष्णुका शक्तिको प्रभावले उक्त वस्त्रले प्रह्लादलाई ढाक्यो अनि होलिका जलेर भष्म भइन् । र प्रह्लाद बाँच्न सफल भए । यति गर्दा पनि प्रह्लादलाई मार्न नसकेपछि हिरण्यकश्यपुले प्रह्लादलाई सोधे तिमीले विश्वास गर्ने भगवान् कहाँ छन् । प्रह्लादले जवाफ दिएछन् । उनी हरेक ठाउँमा छन् त्यसपछि हिरण्यकश्यपुले खम्बामा घुसेर सोधेछन् के तेरो भगवान् यसमा पनि छन रु त्यही वेला भगवान् विष्णुले नरसिंह अवतार लिएर सन्ध्या वेलामा दरबारको ओसारोमा घुँडा मुनी राखेर नङले चिरेर नाश गरिदिए । हिरण्य कश्यपुको घमण्डको अन्त्य भयो र भक्त प्रह्लादलाइ राजा बनाइदिए । धर्मको पुनस्थापना भयो यही प्रसङ्गवाट विजय उत्सवको रूपमा साथै अधर्मको हार धर्मको जित र सच्चा भक्ति कहिल्यै हार्दैन भन्ने शिक्षा र मान्यताबाट होली पर्व मनाउने प्रचलनको सुरुवात भएको मानिन्छ ।

    होली पर्वसँग भगवान् श्रीकृष्ण र राधाको प्रसंग पनि जोडिएर आएको मानिन्छ । भगवान् श्रीकृष्ण बाल्यकालमा अत्यन्तै चञ्चल स्वभावका थिए । उनी राधा तथा अन्य गोपिनीहरूसँग रमाइलो गर्ने रङ खेल्ने गर्दथे उनलाई राधाको गहुँगोरो रङ मन परेको कुरा यशोधरासँग बताए । यशोधराले भगवान् कृष्णलाई राधामाथि रङ छ्याप्न सुझाव दिएको प्रसङ्गवाट प्रेरित भएर होलिमा रङ खेल्ने प्रचलनको सुरुवात भएको मानिन्छ । यही पौराणिक मान्यतालाई अनुसरण गर्दै श्रीकृष्णको नगरी वृन्दावन,मथुरा र बनारसमा समेत धूमधामका साथ होली मनाउने गरिन्छ ।

    होलीमा विशेष गरेर साँझपख खुला स्थानमा दाउरा घाँस,फुल जम्मा गरी होलीका दहन गर्ने प्रचलन रहेको छ । अन्धकार,दुष्टता,घमण्ड, ईर्ष्या र पापको अन्त्यको प्रतीकको रूपमा यसरी दहन गर्ने गरिएको हो । यो पर्व विशेष गरी विभिन्न जाति वर्ग धर्म लिंगका मानिसहरूलाई एकै ठाउँमा ल्याउने मानिसको मनबाट रिस घृणा र तनाव हटाएर खुशी आत्मीयता बढाउने धर्म सत्य प्रेम मेलमिलाप सहिष्णुता र एकताको पाठ सिकाई वैरभाव हटाउने र भाइचारा बढाउने बसुदैव कुटुम्बको मान्यतालाई आत्मसाथ गर्दछु यस पर्वमा मानिसहरू पुराना रिसराग वैमनस्यता मनमुटाब बिर्सेर अँगालो हाल्छन् र प्रेमका साथ एक अर्कामाथि रङ लगाउने र रङ साटासाट गर्ने गर्दछन् ।साथै परिवारका मानिसहरू साथी सँगी एक ठाउँमा जम्मा हुने रङ खेल्ने मिठा मिठा परिकार खाने विभिन्न भाकामा गीत गाउने नाच्ने गरी मनाउने गरिन्छ । नेपालको राजधानी काठमाडौँ उपत्यका तराइ तथा मुख्य शहरी क्षेत्रमा धूमधामका साथ मनाउने गरिन्छ । यो पर्वको दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

                                             ✍️नवीन कुमार पन्थी , नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य हुन् ।

    लेखकको बारेमा थप :



    lumbinisanjal   
  • २०८१ फाल्गुन २९, बिहीबार १३:३०
  • #nabin kumar panthi

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP