• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    शाइन रेसुङ्गा बैंक १७ औं वर्षमा, शाइन आर्थिक पत्रकारिता पुरस्कार बितरण संगै उत्कृष्ट शाखालाई सम्मान

    • lumbinisanjal
    • २०८१ फाल्गुन ११, आईतवार १५:२१
    8.7K
    SHARES
    शाइन रेसुङ्गा बैंक १७ औं वर्षमा, शाइन आर्थिक पत्रकारिता पुरस्कार बितरण संगै उत्कृष्ट शाखालाई सम्मान

    बुटवल, ११ फाल्गुन ।काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’ बर्गको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १७ औ बर्षमा प्रवेश गरेको छ ।
    बैंकको अधिकृत पुँजी ८ अर्व, जारी पुँजी ४ अर्व ८७ करोड र चुक्ता पुँजी पनि ४ अर्व ८७ करोड रुपियाँ रहेको छ ।
    २०८१ पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन ६९ अर्ब ७२ करोड रहेको छ । कर्जा लगानीतर्फ ५७ अर्ब ४९ करोड रहेको छ ।

    जसमा ब्यापार कर्जा १८ दशमलव ९१ प्रतिशत, कृषि कर्जा ५ दशमलब ९१ प्रतिशत, आवास निर्माण कर्जा ३ दशमलब ८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५ दशमलब ८९ प्रतिशत, जग्गा खरिद कर्जा ४ दशमलब ९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६ दशमलब ८५ प्रतिशत, उद्योग कर्जा १४ दशमलब २१ प्रतिशत, उपभोग्य कर्जा २० दशमलब ३५ प्रतिशत, हायरपर्चेज कर्जा १ दशमलब ४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

    बैंकले आर्थिक बर्षमा २०८०÷०८१ मा ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शीर्षकमा गरी श्रोतमा कर कट्टीतर्फ ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ ३७ करोड ०६ लाख ६६ हजार गरी कुल ७२ करोड ६४ लाख ४६ हजार रुपियाँ सरकारी कोषमा जम्मा गरेको छ ।

    बैंकले आर्थिक बर्ष २०८०÷०८१ मा इण्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, बेस्ट पर्फमेन्स अन ग्रोथ र बेस्ट बैंक शीर्षकमा रनर उपाधिबाट सम्मानित भएको थियो ।
    यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा नेशनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यु बिजनेश एज प्रा.लि. वाट बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इअर २०२४ वाट सम्मानित भएको थियो ।
    बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा बृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामीण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी बिस्तार गर्ने, डिजिटल कारोवारलाई थप सुरक्षित र भरपर्दो बनाउदै उत्कृष्ट विकास बैंक बन्ने लक्ष्य सहित अघि बढेको बताए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको यो विकास बैंकलाई धेरैभन्दा धेरै सेवाग्राहीको बैंक वनाउने प्रतिवद्धता व्यक्त गरे ।

    उनले बैंक सुशासन, स्पष्ट भिजन र दिशासहित अघि बढेको बताउँदै वित्तीय अनुशासनको पाटोलाई बैंकले मुख्य जोड दिएको बताए । बिगतमा सबै सरोकारवाला क्षेत्र आर्थिक अनुशासनमा नरहँदा त्यसको असर बैंक व्याजदरमा परेको स्मरण गर्दै पौडेलले बैंकिङ क्षेत्रमा अनुशासन जरुरी रहेको उल्लेख गरे । उनले डिजिटल बैंकिङ तथा युवा उद्यमशीलता कार्यक्रमका कारण युवा पुस्तामाझ बैंक लोकप्रिय बनेको उल्लेख गरे ।

    बैंकले वार्षिकोत्सवक अवसरमा यसवर्ष उत्कृष्ट शाखाको रुपमा खैरेनी शाखा गुल्मी , कतरनिया शाखा बर्दिया, सूर्यपुरा शाखा रुपन्देही, बिजुवार शाखा प्युठान र योगीकुटी शाखा रुपन्देहीलाई बेस्ट म्यानेज्ड ब्रान्च अवार्डबाट सम्मान गरेको छ ।

    शाइन आर्थिक पत्रकारिता पुरस्कार पत्रकार खनाललाई

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल पत्रकार महासंघ रुपन्देहीसँग सहकार्य गरेर स्थापना गरेको शाइन आर्थिक पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन् ।

    एभीन्युज टेलिभिजनका लुम्बिनी प्रदेश प्रमुख एवं विजनेश खवर पत्रिकाका सम्पादक खनाललाई ५० हजार १११ रुपियाँ राशीको शाइन आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । बैंकका अध्यक्ष थानेश्वर पौडेल एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले एक समारोहका बिच खनाललाई पुरस्कार प्रदान गरेका हुन् ।

    अर्थशास्त्र विषयका प्राध्यापक डा. बाबुराम ज्ञवाली संयोजक रहेको छनोट समितिको सिफारिशको आधारमा महासंघले खनाललाई पुरस्कार प्रदान गर्ने निर्णय यसअघि गरेको थियो ।

    पुरस्कृत भएपछि बोल्दै पत्रकार खनालले यो पुरस्कारले आफूलाई आर्थिक क्षेत्रमा कलम चलाउन थप उर्जा मिलेको बताए । यतिबेला आर्थिक क्षेत्र समस्यामा परेको भन्दै उनले यसका लागि सबै क्षेत्रले मिलेर अर्थतन्त्रमा देखिएका समस्या हल गर्नेतर्फ पहल र प्रयन्त गर्नुपर्ने उनले सुझाव दिए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले शाइन बैंक यस क्षेत्रका जनताको माया पाएरै यो अवस्थासम्म आइपुगेको भन्दै थप प्रगतिको कामना गरेका थिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ११, आईतवार १५:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP