• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा डिजिटल सचेतना र सहकारी भेटघाट कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ पुष १३, आईतवार १०:५१
    1.9K
    SHARES
    बुटवलमा डिजिटल सचेतना र सहकारी भेटघाट कार्यक्रम सम्पन्न

    बुटवल, १३ पुस । इन्फोडेभलपर्स प्रा.लि., अंकुर इन्फोटेक प्रा.लि. तथा जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सहकारीका सञ्चालक, प्रबन्धक तथा कर्मचारीहरूलाई साइबर सुरक्षा, सहकारी क्षेत्रमा डिजिटलाइजेसनको महत्व र प्रविधिको सुरक्षित प्रयोगबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
    कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रमेश आचार्यले प्रविधिमैत्री युगमा सहकारीहरू डिजिटल प्रणालीतर्फ अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो। उहाँले कामलाई छरितो, पारदर्शी र मितव्ययी बनाउन प्रविधिले ठूलो सहजता प्रदान गर्ने उल्लेख गर्दै डिजिटल प्रणाली प्रयोग गर्दा साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा इन्फोडेभलपर्स प्रा.लिका प्रमुख कार्यकारी अधिकृत प्रजय नेपालले सहकारी क्षेत्रको डिजिटल रूपान्तरण आजको आवश्यकता भएको बताउनुभयो। अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको लक्ष्यअनुसार सहकारी गतिविधिहरू पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण हुनुपर्ने उहाँको भनाइ थियो। केवल प्रविधि प्रयोग गर्नु मात्रै पर्याप्त नहुने भन्दै डाटाको सुरक्षा, डिजिटल सचेतना र जिम्मेवार प्रयोग बिना प्रभावकारी डिजिटल रूपान्तरण सम्भव नहुने स्पष्ट पार्नुभयो।

    २४ वर्षदेखि डिजिटल क्षेत्रमा क्रियाशील इन्फोडेभलपर्स प्रा.लिले नेपालका साथै म्यानमार, भुटान र अमेरिकामा समेत सेवा प्रदान गर्दै आएको जानकारी दिइयो। नेपालमा मात्र यस संस्थाले नेपाल सरकारका ४५ भन्दा बढी एजेन्सी, ५० भन्दा बढी बैंक तथा १ हजार ५ सयभन्दा बढी सहकारी संस्थामा सेवा विस्तार गरिसकेको जनाइएको छ।

    कार्यक्रममा बिकु सहकारीका सिईओ माधव पौडेल, जनउत्थान सहकारीका सिईओ रणबहादुर थापा, साइबर सुरक्षा विज्ञ वासुदेव राउत तथा नेपाल बैंक लिमिटेडका म्यानेजर सन्तोष शर्माले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। साथै जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल र राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेशका प्रमुख नारायण बेल्बासेले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रमकै अवसरमा लामो समयदेखि सफ्टवेयर प्रयोग गर्दै आएका २१ वटा सहकारी संस्थालाई अंकुर इन्फोटेक प्रा.लिका प्रबन्ध निर्देशक रमेश पाण्डे, निर्देशकहरू माधव पराजुली र सञ्जिव मानन्धरले सम्मान गर्नुभएको थियो।

    त्यसैगरी सामूहिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवाली, कोलिय देवदह साकोसका सहायक व्यवस्थापन प्रमुख बुद्धिसागर अर्याल तथा सबैको साकोसका व्यवस्थापन प्रमुख हरिहर पौडेलले प्रविधि रूपान्तरणसम्बन्धी आफ्ना अनुभव सहभागीहरूसँग साझा गर्नुभएको थियो।

    कार्यक्रमको सञ्चालन डा. आविष्कार पराजुलीले गर्नुभएको थियो भने जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको समापनमा इन्फोडेभलपर्स प्रा.लिका निर्देशक अविन्द्र प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रममा विभिन्न सहकारी संस्थाका सञ्चालक समिति सदस्य, प्रबन्धक तथा कर्मचारी गरी ४ सयभन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ पुष १३, आईतवार १०:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP