• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

    • lumbinisanjal
    • २०८२ चैत्र २८, शनिबार २१:०३
    949
    SHARES
    मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

    मोरङमा ,२८ चैत । मोरङको बुढीगंगा गाउँपालिका–२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय मापदण्डको सलाइन उत्पादन उद्योग ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा आएको छ।

    स्वास्थ्य क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ स्थापित यस उद्योगको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले एक कार्यक्रमका बीच उद्घाटन गरे। जर्मन प्रविधिको अत्याधुनिक मेसिनरी प्रयोग गरी सञ्चालनमा ल्याइएको यस उद्योगले विश्वस्तरीय गुणस्तरको सलाइन उत्पादन गर्ने दाबी गरेको छ। उद्योगीद्वय दिनेश ठाकुर र रञ्जित भगतको ५ वर्ष लामो अध्ययन र निरन्तरको प्रयासपछि यो परियोजना सफल भएको बताइएको छ।

    उद्घाटन कार्यक्रममा बोल्दै डा. कोइरालाले स्वदेशमै अत्यावश्यक औषधि उत्पादन हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताए। उनले भने, ‘हामी औषधिका लागि परनिर्भर भइरहेका बेला स्वदेशमै यस्तो स्तरको उद्योग खुल्नु सकारात्मक कदम हो। यदि गुणस्तरमा कुनै सम्झौता नगरी निरन्तरता दिने हो भने यसले देशको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुर्याउनेछ।’

    एलेक्सा लाइफसाइन्सेजले हाल पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १ सय एमएलदेखि ३ हजार एमएलसम्मको सलाइन उत्पादन सुरु गरिसकेको छ। उद्योगका निर्देशक ठाकुरका अनुसार दोस्रो चरणमा १ देखि २० एमएलसम्मका ‘स्मल भोल्युम प्यारेन्टरल्स’ (इन्जेक्सनका लागि प्रयोग हुने) र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधिहरू उत्पादन गर्ने लक्ष्य राखिएको छ।

    गुणस्तरीय उत्पादनका बाबजुद सरकारी नीति र बजार मूल्यका कारण उद्योगले सुरुवाती चरणमा केही आर्थिक चुनौती सामना गरिरहेको सञ्चालक ठाकुरले बताए। ‘हाम्रो उद्देश्य सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु हो, तर उत्पादन लागतको तुलनामा बजार मूल्य समायोजन नहुँदा हाल हामीले घाटा सहेरै काम गरिरहेका छौं,’ ठाकुरले भने। उनले स्वदेशी उद्योगलाई बचाउन सरकारले नीतिगत सुधार र सहुलियत दिनुपर्नेमा जोड दिए।

    यसको मुख्य उद्देश्य सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु र औषधिको परनिर्भरता घटाउनु रहेको बताउँदै, ठाकुरले भने, ‘सलाइन उत्पादनको लागत बढी हुने र बजार मूल्य समायोजन नहुँदा हाल हामीले घाटा सहेरै उत्पादन गरिरहनुपरेको छ। नीतिगत सुधार र आवश्यक सहुलियत नदिए स्वदेशी उद्योगहरू धराशायी हुनसक्छ।’

    उद्योगले हाल १५० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ। दक्ष जनशक्ति र अत्याधुनिक व्यवस्थापन प्रणाली लागू गरेको यस कम्पनीले दीर्घकालमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने महत्वाकांक्षी योजना रहेको ठाकुरले बताए।

    नेपालको औषधि बजारमा विदेशी कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा एलेक्सा लाइफसाइन्सेजको प्रवेशले आयात प्रतिस्थापनमा ठूलो मद्दत पुग्ने अपेक्षा गरेको छ। सलाइन उत्पादनमा पूर्ण रूपमा स्वदेशी लगानी र अत्याधुनिक प्रविधि प्रयोग गर्ने यो नेपालकै अग्रणी उद्योग भएको सञ्चालकहरूले दाबी गरेका छन्। स्वदेशमै सलाइन उत्पादन गरी स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यले स्थापित यो उद्योगले केही समय अघिदेखि नै आफ्ना उत्पादन बजारमा ल्याउन थालिसकेको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र २८, शनिबार २१:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP