• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेशभर १ लाख बढि मत बदर तराईका जिल्लामा बढि

    • lumbinisanjal
    • २०८२ फाल्गुन २७, बुधबार १४:२१
    754
    SHARES
    लुम्बिनी प्रदेशभर १ लाख बढि मत बदर तराईका जिल्लामा बढि

    बुटवल , २७ फागुन । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको मत विवरण हेर्दा तराई तथा भित्री तराईका जिल्लामा बदर मतको संख्या उल्लेखनीय रूपमा बढी देखिएको छ भने पहाडी जिल्लामा तुलनात्मक रूपमा कम रहेको तथ्यांकले देखाएको छ। मतदाताको संख्या धेरै भएका जिल्लामा बदर मतको संख्या पनि उच्च देखिएको हो।

    प्रदेश निर्वाचन कार्यालय दाङका प्रवक्ता गेहेन्द्र कुँवरका अनुसार तुलनात्मक रुपमा तराईका जिल्लाहरुमा बदर मत बढि देखिएको छ। प्रदेशका २१ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ खसेको २० लाख ४३ हजार ६३४ मतमध्ये १ लाख २ हजार ९५६ मत बदर भएको उनले जानकारी दिए। उनका अनुसार १९ लाख ४० हजार ६७८ मत सदर भएको छ।

    सबैभन्दा धेरै रुपन्देहीमा
    निर्वाचन कार्यालय लुम्बिनी प्रदेश कार्यालय दाङले दिएको जानकारी अनुसार रुपन्देहीमा सबैभन्दा बढी २२ हजार ३५ मत बदर भएको छ। रुपन्देहीमा कुल ४ लाख ३८ हजार ३२५ सदर मत रहेको छ, जुन सूचीमा सबैभन्दा धेरै मतदाता भएको जिल्ला पनि हो। त्यसपछि कपिलवस्तुमा १ लाख ७२ हजार १८ सदर मतमध्ये १६ हजार ७८४ मत बदर भएको देखिन्छ।

    बाँकेमा २ लाख २१ हजार ३०९ सदर मत रहेकोमा १३ हजार ४४२ मत बदर भएको छ भने बर्दियामा १ लाख ९५ हजार १०७ सदर मतमध्ये १० हजार ३६८ मत बदर भएको छ। त्यसैगरी नवलपरासीमा १ लाख ७० हजार २२२ सदर मतमध्ये १० हजार ४७७ मत बदर भएको छ।

    दाङमा पनि बदर मतको संख्या उल्लेखनीय देखिएको छ। दाङमा २ लाख ५१ हजार ३६८ सदर मतमध्ये १० हजार ६९८ मत बदर भएको तथ्यांकले देखाएको छ। यी जिल्लाहरू तराई तथा भित्री तराई क्षेत्रमा पर्ने भएकाले यहाँ मतदाता संख्या धेरै भएको र त्यसैको अनुपातमा बदर मत पनि बढी देखिएको विश्लेषकहरू बताउँछन्।

    रुकुम पूर्वमा सबैभन्दा कम
    सबैभन्दा कम बदर मत रुकुममा देखिएको छ। रुकुममा १८ हजार ८०९ सदर मत रहेकोमा ५६३ मत मात्रै बदर भएको छ। यहाँ नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन्।

    पहाडी जिल्लामा कम
    पहाडी जिल्लाहरूमा भने बदर मतको संख्या तुलनात्मक रूपमा कम देखिएको छ। गुल्मीमा १ लाख १९ हजार २३ सदर मतमध्ये ४ हजार १४० मत बदर भएको छ भने पाल्पामा १ लाख १४ हजार ७६२ सदर मतमध्ये ४ हजार ७९८ मत बदर भएको छ।

    अर्घाखाँचीमा ८६ हजार ५२६ सदर मतमध्ये ३ हजार २२० मत बदर भएको छ। रोल्पामा ६८ हजार ७७६ सदर मतमध्ये ३ हजार १४४ मत बदर भएको छ भने प्यूठानमा ८४ हजार ४३३ सदर मतमध्ये ३ हजार २८७ मत बदर भएको देखिन्छ।

    मतदाता शिक्षाको कमी
    मतदाता शिक्षा, मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नहुनु, मतपत्रमा सही तरिकाले मतदान नगर्नु लगायतका कारणले बदर मतको संख्या बढ्ने गर्छ। आगामी निर्वाचनहरूमा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन सके बदर मत घटाउन सकिने भएपनि दल तथा निर्वाचन आयोगले सोही अनुसार गर्न नसक्दा बदर मत ठूलो संख्यामा आएको हो।

    मतगणनाका क्रममा हेर्दा नेकपा एमालेको चुनाव चिह्न सूर्य या नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा मतदान गरेकाहरुले राष्ट्रिय स्वतन्त्र पार्टिको चुनाव चिह्न घण्टीमा मतदान गरेको देखिएको मतगणनामा सहभागि एक कर्मचारीले बताए। रुपन्देहीका अधिकांश बदर मत सोही प्रकारका देखिएको उनले जनाए।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २७, बुधबार १४:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP