• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

    • lumbinisanjal
    • २०८२ फाल्गुन १६, शनिबार १५:४६
    1.1K
    SHARES
    रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

    काठमाडौं,१६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर रहेको भन्दै सार्वजनिक गरिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित भएको स्पष्ट पारेको छ ।

    शुक्रबार राति जारी गरिएको विज्ञप्तिमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई सम्बोधन गरी लेखिएको भनिएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘दुई जिम्मेवार राजनीतिक व्यक्तित्वको नाम जोडेर परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा आधारहीन र भ्रामक सामग्री प्रचार गर्नु निन्दनीय कार्य हो।’ सार्वजनिक गरिएको पत्र किर्ते र झुटो रहेको दाबी गर्दै रास्वपाले त्यसप्रति विश्वास नगर्न आग्रह गरेको छ।

    आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र नेपाल–भारत द्विपक्षीय सम्बन्धमा खलल पुर्‍याउने उद्देश्यले योजनाबद्ध रूपमा यस्ता प्रचारबाजी गरिएको रास्वपाको दाबी छ ।

    रास्वपाले सञ्चारकर्मी तथा सञ्चारगृहहरूलाई राष्ट्रिय महत्वका विषयमा समाचार सम्प्रेषण गर्नुअघि तथ्यको गम्भीर जाँचबुझ गर्न अनुरोध गरेको छ। साथै, द्विपक्षीय सम्बन्ध र सामाजिक सद्भावमा असर पर्ने सामग्री प्रकाशन नगर्न आग्रह गरिएको छ।

    पार्टीले आम नागरिकलाई पनि निर्वाचनको मुखमा फैलाइएका फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न सचेत गराउँदै यस्ता गतिविधिमा संलग्नमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १६, शनिबार १५:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP