• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    १३ औँ ‘दीप गायन तारा’को उपाधि साकार शाहीलाई

    • lumbinisanjal
    • २०८२ फाल्गुन ४, सोमबार २२:५२
    2.4K
    SHARES
    १३ औँ ‘दीप गायन तारा’को उपाधि साकार शाहीलाई

    बुटवल, ४ फाल्गुण । १३औँ संस्करणको ‘दीप गायन तारा’को उपाधि साकार शाहीले जितेका छन्। दीप बोर्डिङ हाई स्कुल सुख्खानगरमा आयोजित प्रतियोगितामा प्रारम्भिक चरणदेखि अन्तिम प्रतिस्पर्धासम्म उत्कृष्ट प्रस्तुति दिँदै शाहीले अन्तिम चरणमा पुगेका १७ जना प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेका हुन्। शाही न्यू होराइजन मावि, बुटवलका छात्र हुन्।

    उपाधिसँगै उनले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। हरेक वर्ष गीत–सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउँदै नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित दीप बोर्डिङ हाई स्कुलले यो प्रतियोगिता आयोजना गर्दै आएको छ। यस संस्करणमा कान्ति माविका जेशन बराल द्वितीय र त्रिभुवन युनाइटेड एकेडेमीकी प्रज्ञा न्यौपाने तृतीय भए। त्यस्तै, आवासीय महाविद्यालयका रिवाज सारु मगर र सिद्धार्थ मेमोरियल एकेडेमीकी मिलिसा परियारले सान्त्वना स्थान प्राप्त गरे। द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने दुई जनाले जनही पाँच–पाँच हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाए।

    फागुन १ गते सम्पन्न छनोट चरणमा रुपन्देहीका सरकारी तथा निजी विद्यालयका कक्षा १० सम्म अध्ययनरत ४५ जना विद्यार्थीले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए। तीमध्येबाट १७ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए। फाइनल चरणमा प्रत्येक प्रतियोगीले ट्रयाकसहित एउटा राष्ट्रिय गीत र एउटा स्वेच्छिक गीत प्रस्तुत गरेका थिए।

    कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले ‘दीप गायन तारा’ जिल्लाकै नमुना कार्यक्रम भएको बताइन्। बुटवललाई शिक्षाको हब बनाउने लक्ष्यसहित उपमहानगरपालिकाले करोडौँ लगानी गरेको उल्लेख गर्दै उनले यस अभियानमा सबैको साथ आवश्यक रहेको बताइन्। गुणस्तरीय शिक्षासँगै विद्यार्थीको सर्वपक्षीय विकासमा यस्ता रचनात्मक कार्यक्रम अपरिहार्य रहेको उनको भनाइ थियो।

    विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकास र प्रतिभा उजागर गर्न विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको जानकारी दिए। ‘दीप गायन तारा’बाट उत्पादन भएका धेरै विद्यार्थी आज राष्ट्रिय कलाकारितामा स्थापित भइसकेको पनि उनले बताए।

    कार्यक्रममा विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजूले दीप बोर्डिङ हाई स्कुल शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र विकासमा केन्द्रित रहेको बताए। बुटवल–८ वडा कार्यालयका वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले राष्ट्रिय कलाकार जन्माउने प्लेटफर्मका रूपमा ‘दीप गायन तारा’ स्थापित हुँदै गएको उल्लेख गरे। त्यस्तै, अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले गुणस्तरीय शिक्षा, प्रतिभा पहिचान, संस्कार र संस्कृतियुक्त शिक्षामा दीपले महत्वपूर्ण योगदान दिँदै आएको बताए।
    कार्यक्रममा विद्यालयका उपाध्यक्ष उमाकान्त चापागाई, तारादल गण बुटवलका गणपति कल्याण पाण्डे, उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य तथा शैक्षिक संयोजक सन्दीप पट्टेललगायतको उपस्थिति थियो।

    प्रतियोगितामा वरिष्ठ सङ्गीतकार नारायणबहादुर थापा, सङ्गीत प्रशिक्षक नरहरि प्रेमी र वरिष्ठ सङ्गीतकार मनोज खड्का निर्णायक रहेका थिए। धन्यवाद मन्तव्य कार्यक्रम संयोजक शिक्षक कृष्ण भुसालको रहेको थियो । सञ्चालन शिक्षकद्वय विजय सापकोटा र राजश्री गौतमले गरेका थिए।

    यसअघि ‘दीप गायन तारा’ बन्नेहरूमा अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी, रिदिमा सिंजाली र विशेष भुर्तेल रहेका छन्।

    वि.सं. २०३७ सालमा स्थापना भएको दीप बोर्डिङ हाई स्कुलले विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै मंगलबार ४५औँ वार्षिकोत्सव मनाउँदै छ। हाल विद्यालयमा करिब २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ४, सोमबार २२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP