• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवललाई उज्यालो, सुन्दर र योजनाबद्ध नगर बनाउने प्रतिबद्धता : नगरप्रमुख पाण्डेय

    • lumbinisanjal
    • २०८२ फाल्गुन ३, आईतवार ०८:३७
    2.1K
    SHARES
    बुटवललाई उज्यालो, सुन्दर र योजनाबद्ध नगर बनाउने प्रतिबद्धता : नगरप्रमुख पाण्डेय

    बुटवल ,०३ फागुन । बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस औपचारिक कार्यक्रमका बीच मनाउँदैछ । विगतका वर्षहरूमा भव्य समारोहसहित मनाइँदै आएको स्थापना दिवस यस वर्ष भने प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भएका कारण सामान्य र संक्षिप्त रूपमा मनाइने भएको हो ।

    हिजो आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख खेलराज पाण्डेयले सम्बोधन गर्दै निर्वाचन आचारसंहिताका कारण यस वर्ष कार्यक्रमलाई औपचारिकताभन्दा सन्देशमूलक बनाइएको स्पष्ट पारे । “स्थापना दिवस उत्सव मात्र होइन, विगतका उपलब्धिको समीक्षा र आगामी योजनाप्रति जनतालाई विश्वास दिलाउने अवसर पनि हो,” उनले भने, “संक्षिप्त कार्यक्रम भए पनि नगर विकासका उपलब्धि र भावी दिशा स्पष्ट रूपमा सार्वजनिक गर्छौं ।”

    उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रूपमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । नगरप्रमुख पाण्डेयका अनुसार ‘उज्यालो बुटवल’ अभियान अन्तर्गत नगरका मुख्य चोक तथा सडक क्षेत्रमा एक सातासम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।

    “यस अभियानले बुटवललाई सफा, सुन्दर र व्यवस्थित शहर बनाउने दीर्घकालीन लक्ष्यलाई थप सुदृढ बनाएको छ,” उनले बताए । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमास्ट बत्ती जडान तथा विभिन्न पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अघि बढाइएको उनको भनाइ छ ।

    नगरप्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दै जितगढी किल्ला र पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । “इतिहास र पहिचान जोगाउँदै शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रका रूपमा बुटवललाई विकास गर्ने हाम्रो लक्ष्य हो,” उनले भने ।

    त्यसैगरी, उपप्रमुख सावित्रा आर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी, महिला उद्यमशीलता तथा महिला सशक्तीकरणलाई नगरको प्रमुख प्राथमिकतामा राखिएको बताइन् । महिलाको आर्थिक सशक्तीकरणबिना समग्र नगर विकास सम्भव नहुने उल्लेख गर्दै उनले महिला लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने जानकारी दिइन् । साथै, शिक्षाको गुणस्तर सुधार र पहुँच विस्तारका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको पनि उनले बताइन् ।

    उपमहानगरपालिकाले स्थापना दिवसलाई उपलब्धिमूलक, सन्देशमूलक र विकासमुखी कार्यक्रममार्फत मनाउँदै बुटवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिने सशक्त नगरका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ३, आईतवार ०८:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP