• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    गुल्मी–२ मा परिवर्तनको बहस : दोहोरिएका अनुहारबीच भुवन श्रेष्ठप्रति बढ्दो जनआकर्षण

    • lumbinisanjal
    • २०८२ माघ २७, मंगलवार २०:४१
    3K
    SHARES
    गुल्मी–२ मा परिवर्तनको बहस : दोहोरिएका अनुहारबीच भुवन श्रेष्ठप्रति बढ्दो जनआकर्षण

    गुल्मी, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी–२ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । यस क्षेत्रबाट २२ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि मुख्य प्रतिस्पर्धा स्थापित दलका अनुभवी नेताहरू र परिवर्तनको अपेक्षासहित अघि सारिएका उम्मेदवारबीच केन्द्रित देखिन्छ ।

    गुल्मी–२ मा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ परिवर्तन, पहुँचयोग्य नेतृत्व र सन्तुलित राजनीतिक दृष्टिकोणका कारण मतदाताको रोजाइमा पर्दै गएको देखिन्छ । कांग्रेसले यसपटक जिल्लाको सामाजिक–राजनीतिक संरचना राम्रोसँग बुझेका, शान्त स्वभाव र प्रतिष्ठाको राजनीति गर्ने नेताका रूपमा परिचित श्रेष्ठलाई उम्मेदवार बनाएको हो ।

    श्रेष्ठ पूर्व जिल्ला सभापति तथा तत्कालीन तम्घास गाविस अध्यक्षसमेत हुन् ।  लामो समयदेखि संगठन निर्माण, जनसम्पर्क र स्थानीय मुद्दामा सक्रिय रहँदै आएका उनी जनतामाझ ‘सजिलै भेटिन सकिने नेता’ का रूपमा परिचित छन् । २०७४ सालको स्थानीय तह निर्वाचन र २०७९ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेर राजनीतिक अभ्यासलाई निरन्तरता दिएका श्रेष्ठ यसपटक संघीय संसदमार्फत गुल्मीको विकास र आवाजलाई केन्द्रसम्म पुर्‍याउने तयारीमा छन् ।

    उता, एमालेका केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट छैटौँपटक यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । विगतमा चार पटक निर्वाचित भइसकेका विष्टसँग मन्त्रीको अनुभव भए पनि लामो समय एउटै अनुहार दोहोरिँदा मतदातामा नयाँ विकल्प खोज्ने मनोविज्ञान बढ्दै गएको विश्लेषण स्थानीय स्तरमा सुनिन थालेको छ ।

    नेकपाबाट केन्द्रीय सदस्य श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वडीएसपी गोविन्द पन्थी पनि प्रतिस्पर्धामा छन् । यद्यपि, पुराना दलभित्रै रहेर पनि फरक शैली र सन्तुलित दृष्टिकोण प्रस्तुत गरेका कारण कांग्रेस उम्मेदवार श्रेष्ठप्रति मध्यमार्गी, युवा र असन्तुष्ट मतदाताको आकर्षण बढ्दो देखिन्छ ।

    २०७९ सालको निर्वाचनमा एमाले विजयी भए पनि समानुपातिक मतपरिणामले कांग्रेसको आधार कमजोर नभएको संकेत गरेको थियो । यही आधारलाई बलियो बनाउँदै कांग्रेसले यसपटक गुल्मी–२ मा परिणाम उल्ट्याउने रणनीतिका साथ घरदैलो अभियान तीव्र पारेको छ ।

    गुल्मी–२ का ठूलो संख्यामा युवा रोजगारीका लागि जिल्लाबाहिर तथा विदेशमा रहेकाले शिक्षा, रोजगारी, पूर्वाधार र स्थानीय उत्पादनसँग जोडिएका मुद्दा चुनावका मुख्य एजेन्डा बनेका छन् । यी विषयमा स्पष्ट धारणा र स्थानीय आवश्यकतामा आधारित योजना प्रस्तुत गरेका कारण भुवन श्रेष्ठलाई ‘व्यवहारिक र भरोसायोग्य विकल्प’ का रूपमा हेरिन थालिएको छ ।

    कुल १ लाख ७ हजार ३६३ मतदाता रहेको गुल्मी–२ मा निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी प्रतिस्पर्धा थप चर्किँदै गएको छ भने परिवर्तनको अपेक्षा बोकेका मतदाताको ध्यान भुवन श्रेष्ठतर्फ केन्द्रित हुँदै गएको राजनीतिक संकेत देखिन थालेको छ ।



    lumbinisanjal   
  • २०८२ माघ २७, मंगलवार २०:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP