• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा मोमोको महोत्सव, स्वाद र संस्कृतिको संगम

    • lumbinisanjal
    • २०८२ माघ २४, शनिबार २१:२६
    2.1K
    SHARES
    बुटवलमा मोमोको महोत्सव, स्वाद र संस्कृतिको संगम

    बुटवल, २४ माघ । नेपालीहरूको अत्यन्तै प्रिय परिकार मोमोको स्वादलाई उत्सवमा रूपान्तरण गर्दै बुटवलको सिद्धार्थ कटेजमा भव्य मोमो महोत्सव आयोजना हुने भएको छ। हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज बुटवलले भ्यालेन्टाइन डे अवसर पारेर मोमोको प्रवद्र्धन र नयाँ स्वादको पहिचान गराउने उद्देश्यसहित महोत्सव गर्न लागेको हो।

    शनिबार आयोजित पत्रकार सम्मेलनमा सिद्धार्थ कटेज बुटवलका सञ्चालक तथा क्षेत्रीय प्रबन्धक महेन्द्र न्यौपानेले माघ २९ गतेदेखि फागुन २ गतेसम्म तीन दिन महोत्सव सञ्चालन हुने जानकारी दिनुभयो। उहाँका अनुसार सिद्धार्थ हस्पिटालिटीले यसअघि नेपालगञ्ज र धनगढीमा सफलतापूर्वक मोमो महोत्सव सम्पन्न गरिसकेको छ। बुटवलमा आयोजना हुन लागेको यो महोत्सव सिद्धार्थ हस्पिटालिटीको पाँचौँ संस्करण तथा सिद्धार्थ कटेज बुटवलमा पहिलोपटक हुन लागेको विशेष कार्यक्रम हो।
    महोत्सवको मुख्य आकर्षणका रूपमा २ सयभन्दा बढी प्रकारका मोमो परिकार प्रस्तुत गरिनेछन्।

    सिद्धार्थ कटेजका कुलिनरी डाइरेक्टर एलबी कौशलका अनुसार परम्परागत स्वाददेखि नयाँ फ्युजन मोमोसम्म एउटै थलोमा स्वाद लिन सकिनेछ। साथै लुम्बिनी प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू पनि रहनेछन्, जसले स्थानीय स्वाद, संस्कृति र पहिचानलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।

    महोत्सवमा सहभागी ग्राहकहरूले ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मका विभिन्न मोमो परिकारको स्वाद लिन सक्नेछन्। आयोजकका अनुसार यो महोत्सव केवल खानाको उत्सव मात्र नभई बुटवलको पर्यटन र हस्पिटालिटी प्रवद्र्धनमा समेत सहयोगी बन्ने विश्वास लिइएको छ।

    मोमो प्रेमीहरूका लागि सिद्धार्थ कटेज बुटवलको यो महोत्सव स्वाद, विविधता र अनुभवको अविस्मरणीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८२ माघ २४, शनिबार २१:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP