• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ओमसतिया गाउँपालिकाको संशोधित बजेट सार्वजनिक, ५० करोड २१ लाखको आय–व्यय अनुमान

    • lumbinisanjal
    • २०८२ पुष १८, शुक्रबार २२:०१
    1.2K
    SHARES
    ओमसतिया गाउँपालिकाको संशोधित बजेट सार्वजनिक, ५० करोड २१ लाखको आय–व्यय अनुमान

    रुपन्देही ,१८ पुस । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि संशोधित बजेट सार्वजनिक गरेको छ। शुक्रबार सम्पन्न गाउँपालिकाको १८औँ गाउँसभाले ५० करोड २१ लाख १४ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको हो।
    बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले चालु आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण र हालसम्मको वास्तविक खर्च अवस्थाबारे गाउँसभालाई जानकारी गराएकी थिइन्। उनका अनुसार प्रस्तुत बजेटमा पालिकाको आर्थिक अनुशासन, स्रोत व्यवस्थापन र प्राथमिकतामा आधारित कार्यक्रमलाई ध्यानमा राखिएको छ।

    गाउँसभा सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले ओमसतियालाई उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्यका साथ बजेट ल्याइएको बताए। स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचान निर्माण गर्न योजनाबद्ध शहरीकरण र बस्ती विकासलाई बजेटले सम्भव भएसम्म प्राथमिकतामा राखिएको उनको भनाइ थियो। साथै सामाजिक विकास अन्तर्गत शिक्षा, युवा तथा खेलकुद, संस्कृति, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई पनि विशेष प्राथमिकता दिइएको अध्यक्ष यादवले उल्लेख गरे ।

    उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको बजेट अनुसार राजस्वबाट ५ करोड ४१ लाख ५१ हजार रुपैयाँ, आन्तरिक स्रोतबाट १ करोड ३७ लाख २० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ३ करोड ३१ लाख ९७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै संघीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ५ करोड ८३ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १० करोड २२ लाख २८ हजार रुपैयाँ प्राप्त हुने छ। प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ४० लाख ३६ हजार ५ सय रुपैयाँ, समपुरक अनुदानतर्फ २४ लाख ७५ हजार रुपैयाँ, प्रदेश सरकारकै थप २३ लाख रुपैयाँ र मालपोततर्फ ४९ लाख ३४ हजार रुपैयाँ समावेश गरिएको छ।

    ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव सोनुको अध्यक्षतामा सम्पन्न १८औँ गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा अध्यक्षहरू, गाउँसभा सदस्य, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
    यसअघि गाउँपालिकाले २०८२ असार ८ गते प्रस्तुत गरेको बजेटलाई जेंजी आन्दोलनपछि समायोजन गर्दै संशोधन गरिएको हो। आन्दोलनपश्चात बजेट कटौती गर्नुपरेको अवस्थामा पुनः समायोजन गरी नयाँ संशोधित बजेट प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ पुष १८, शुक्रबार २२:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP