• २०८३ भाद्र २४ | Wed, 09 Sep 2026
  • Dark Mode

          Subscribe

    चार प्रदेशमा भारी वर्षाको सम्भावना, २० जिल्लामा बाढीको जोखिम

    • lumbinisanjal
    • २०८३ श्रावण १५, शुक्रबार ०९:१४
    299
    SHARES
    चार प्रदेशमा भारी वर्षाको सम्भावना, २० जिल्लामा बाढीको जोखिम

    बुटवल । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (शुक्रबार बिहान) देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

    मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    यस्तै राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

     

    काठमाडौँमा मध्यम वर्षाको सम्भावना

    आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

    मौसम महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा अपराह्नतिर पानी पर्ने सम्भावना बढी छ।

    ‘अहिले बिहान पनि काठमाडौँ उपत्यकाको आकाशमा बादल त लागेको छ फाटफुटसम्म पानी पर्न पनि सक्छ’, उनले बिहान साढे ८ बजे नेपालखबरसँग भनिन्, ‘अपराह्न अर्थात् दिउँसो २/३ बजेपछि भने मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

    हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

    मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

    यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

    एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

    मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

    अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

    यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

    अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

    मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

     

    २० जिल्लामा बाढीको जोखिम

    आज काठमाडौँसहित २० जिल्ला र आसपासका खोला तथा नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउन सक्ने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले आज बिहान बुलेटिन जारी गरी भनेको छ, ‘आज ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’



    lumbinisanjal   
  • २०८३ श्रावण १५, शुक्रबार ०९:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP