• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    ‘गर्भवती र शिशुको स्वास्थ्य समाजको साझा दायित्व हो’ : अध्यक्ष पोखरेल

    • lumbinisanjal
    • २०८२ पुष १५, मंगलवार ०७:४७
    5.4K
    SHARES
    ‘गर्भवती र शिशुको स्वास्थ्य समाजको साझा दायित्व हो’ : अध्यक्ष पोखरेल

    गुल्मी,१५ पुस । धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँको आयोजनामा तथा नयाँगाउँ स्वास्थ्य चौकीको सहजीकरणमा गर्भवती महिला, उनीहरूका परिवार सदस्य तथा महिला स्वास्थ्य आमा समूहलाई लक्षित गरी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।

    वडाभित्रका ठुल्चौरी, बडाखोला र नेटेकटेरी क्षेत्रमा सञ्चालन गरिएको कार्यक्रममा गर्भावस्थामा अपनाउनुपर्ने सावधानी, नियमित स्वास्थ्य परीक्षण, सन्तुलित पोषण, सरसफाइ तथा मातृशिशु स्वास्थ्यसम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले गर्भवती महिला र शिशुको स्वास्थ्य सुरक्षित राख्नु सम्पूर्ण समाजको साझा दायित्व भएको बताउनुभयो। उहाँले गर्भावस्थामा महिलाले सामान्य अवस्थाभन्दा बढी सन्तुलित र पोषणयुक्त खानपान गर्नुपर्ने उल्लेख गर्दै यसमा घरपरिवारको विशेष सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    अध्यक्ष पोखरेलले स्थानीयस्तरमै उपलब्ध सागसब्जी, फलफूल, दाल, दूध, अण्डा जस्ता पोषणयुक्त खाद्य पदार्थको प्रयोग बढाउन सुझाव दिँदै गलत धारणाका कारण गर्भवती महिलालाई खानामा रोक लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। साथै, धुर्कोट गाउँपालिकाले मातृशिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य चौकी सुदृढीकरण र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो।

    वडा अध्यक्ष चेतमान कुँवरले वडा स्तरबाट स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी पूर्वाधार विकास, सेवा विस्तार र जनचेतनामूलक कार्यक्रममार्फत क्रमशः सुधार हुँदै गएको जानकारी दिनुभयो

    धुर्कोट गाउँपालिका स्वास्थ्य शाखाकी भुमा थापाले गर्भावस्थाको सुरुदेखि नै नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य चौकी जानुपर्नेमा जोड दिँदै सुरक्षित मातृत्वका लागि स्वास्थ्यकर्मीको सल्लाहअनुसार खानपान र जीवनशैली अपनाउनुपर्ने बताउनुभयो।
    नयाँगाउँ स्वास्थ्य चौकीका प्रमुख भेषबहादुर बिसीले गर्भवती महिलाले आइरन तथा क्याल्सियमयुक्त आहार सेवन, पर्याप्त आराम र स्वास्थ्य संस्थासँग नियमित सम्पर्कमा रहनु अत्यन्त आवश्यक रहेको जानकारी गराउनुभयो।

    कार्यक्रमपछि गर्भवती महिला तथा उनीहरूका परिवारमा मातृशिशु स्वास्थ्यप्रति चेतना बढेको सहभागीहरूले बताएका छन्।



    lumbinisanjal   
  • २०८२ पुष १५, मंगलवार ०७:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP