• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कसजू र केन्द्रीय सदस्यमा अर्याल सिफारिस

    • lumbinisanjal
    • २०८२ पुष १४, सोमबार १३:३०
    1.5K
    SHARES
    उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कसजू र केन्द्रीय सदस्यमा अर्याल सिफारिस

    बुटवल ,१४ पुस । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू र केन्द्रीय कार्यकारिणी सदस्यमा संघका अध्यक्ष हरिप्रसाद अर्यालललाई अगाडि सारेको छ ।

    संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघ लुम्बिनी प्रदेशको आठौं प्रदेश सभामा अध्यक्ष पदको लागि संघका निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा महासंघको कर, राजश्व तथा भन्सार समितिका उपसभापति समेत रहनु भएका कसजूलाई अगाडि सार्ने निर्णय गरेको हो ।त्यस्तैगरी संघका अध्यक्ष अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा खुल्ला तर्फबाट कार्यकारिणी सदस्य पदमा उम्मेद्वारी दिन निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

    महासंघको प्रदेश अध्यक्षका उम्मेदवार कसजू र केन्द्रीय कार्यकारिणी सदस्य पदका उम्मेदवार अर्यालले महासंघको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरुको हकहित, साना तथा मझौला उद्योगीलाई सम्वद्र्धन तथा प्रोत्साहन र उद्यमशिलता विकासका कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसका लागि जिल्ला नगर उद्योग वाणिज्य संघ, उद्योग व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ र तीनै तहका सरकारसंग समन्वयकारी भूमिका निर्वाहन गर्ने उहाँहरुले बताउनु भयो ।

    नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा अधिवेशन आगामी चैतको २८ र २९ गतेलाई तय गरिसकेको छ भने प्रदेशको अझै मिति तय भईसकेको छैन । यद्यपी महासंघको भन्दा पहिले प्रदेशको अधिवेशन भईसक्ने उहाँले बताउनु भयो । बैठकमा आगामी माघमा बुटवलमा आयोजना गरिने कृषि मेला तयारीका सम्बन्धमा हालसम्म भएका प्रगतीका बारेमा अध्यक्ष अर्यालले जानकारी गराउनु भएको थियो ।

    त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’लाई बृद्धि गर्ने, बुटवल ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालय र वडा नं. ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको छ ।

    बैठकमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनकुमारी खनाल लगायत कार्यसमिति सदस्यहरुले कृषि मेलालाई भव्यतापूर्वक सम्पन्न गर्न र संघबाट लुम्बिनी प्रदेश अध्यक्षमा सिफारिस निवर्तमान अध्यक्ष कसजू तथा केन्द्रीय कार्यकारिणी सदस्यमा सिफारिस अध्यक्ष अर्याललाई जिताउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।



    lumbinisanjal   
  • २०८२ पुष १४, सोमबार १३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP