• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुत्केरीको पीडा : उपचार खर्च नहुँदा गुल्मी धुर्कोटकी सरस्वती सुनारको बिचल्ली, छिमेकीले सुरु गरे सहयोग अभियान

    • lumbinisanjal
    • २०८२ कार्तिक ३, सोमबार १८:०४
    7.7K
    SHARES
    सुत्केरीको पीडा : उपचार खर्च नहुँदा गुल्मी धुर्कोटकी सरस्वती सुनारको बिचल्ली, छिमेकीले सुरु गरे सहयोग अभियान

    गुल्मी, ३ कार्तिक । उपचार खर्च अभावका कारण गुल्मीकी २९ वर्षीया सुत्केरी महिला सरस्वती सुनार गम्भीर संकटमा परेकी छन् । धुर्कोट गाउँपालिका–५ वस्तु अमराईकी सरस्वती हाल भैरहवा मेडिकल कलेजको आइसियु कक्षमा उपचाररत छिन् ।

    गत असोज २६ गते सुत्केरीको बेथा लागेपछि उनलाई धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । त्यहाँ प्रसूति सम्भव नभएपछि उनलाई गुल्मी अस्पताल पठाइएको थियो । तर गुल्मी अस्पताल पुगेपछि चिकित्सकले गर्भमै शिशुको निधन भइसकेको जानकारी दिए र शल्यक्रियापछि आमालाई बचाउन सकिने बताए ।

    शल्यक्रियापछि सरस्वतीलाई अत्यधिक रक्तश्राव भयो र करिब चार घण्टासम्म होस फर्किएन । त्यसपछि उनलाई प्रभास अस्पताल रिफर गरियो । प्रभासमा एक हप्ता उपचारपछि अवस्था सुधार नदेखिएपछि फेरि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको सरस्वतीका जेठाजु बाबुराम सुनारले बताए ।

    “धेरै खर्च भइसक्यो, अब त उपाय छैन,” जेठाजु सुनारले भने, “हामी सबै अस्पतालमै छौं, होस कहिले आउँछ, कहिले हराउँछ। अझै एक हप्ता जति बस्नुपर्ने भनिएको छ, तर खर्च कति लाग्छ भन्ने कसैलाई थाहा छैन।”

    आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि छिमेकी राजु विकले “सरस्वती बचाउ अभियान” सुरु गरेका छन् । आइतबारदेखि सुरु गरिएको अभियानमा हालसम्म करिब ४० हजार रुपैयाँ संकलन भएको विकले बताए ।

    “सरस्वतीको परिवार निकै विपन्न छ,” विकले भने, “सहयोगका हातहरू अघि बढ्ने आशा गरेका छौं।”

    सरस्वतीका दुई जम्ल्याहा छोरीहरू छन् । अहिले परिवारले सबैसँग सहयोगका लागि अनुरोध गरेको छ । इच्छुक सहयोगीहरूले छिमेकी राजु विक (९८५७०७३०५९) वा जेठाजु बाबुराम सुनार (९७६५८७५०५४) मार्फत सम्पर्क गर्न वा लक्ष्मी सनराइज बैंकमा बाबुराम सुनारको नाममा रहेको खाता नम्बर ०९१११७०७०१२०५००१ मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ ।

     



    lumbinisanjal   
  • २०८२ कार्तिक ३, सोमबार १८:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP