• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल–गोरुसिङ्गे सडकको काम १५% मात्र

    • lumbinisanjal
    • २०८२ कार्तिक २, आईतवार १२:३५
    2.2K
    SHARES
    बुटवल–गोरुसिङ्गे सडकको काम १५% मात्र

    बुटवल, २ कात्तिक । गत वर्ष माघ १० गते शिलान्यास गरिएको बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको काम हालसम्म १५ प्रतिशत मात्र पूरा भएको छ भने वित्तीय प्रगति जम्मा १२ प्रतिशतमा सीमित छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि चन्द्रौटासम्मको ६९ किलोमिटर सडक विस्तार योजनामा पहिलो चरणमा बुटवल–गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटरमा निर्माणको काम जारी छ । बाँकी १९ किलोमिटर (गोरुसिङ्गे–चन्द्रौटा खण्ड) विस्तारको प्रक्रिया सरकारले चाँडै अघि बढाउने तयारी गरेको छ ।

    हाल निर्माणाधीन ५० किलोमिटर सडकलाई दुई भागमा विभाजन गरिएको छ । बुटवलदेखि कपिलवस्तुको सीमा क्षेत्र कोठीनदीसम्म २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई छुट्टाछुट्टै भागमा विभाजन गरिएको छ । यो सडक विस्तार काम पूर्वपश्चिम राजमार्ग निर्माणको छ दशकपछि सुरु गरिएको हो । यसको ठेक्का चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले लिएका छन् । कुल १३ अर्ब ५५ करोड ९५ लाख रुपियाँ लागतमा तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी गत असार १३ गते सम्झौता गरिएको थियो ।

    आयोजनाका प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार वर्षायाम, जेनजी आन्दोलन र दसैँतिहार जस्ता चाडपर्वका कारण कामदार अभाव हुँदा निर्माणको काम पछिल्लो समय केही सुस्त भएको हो । सामान्यतया आठ सय कामदार रहने ठाउँमा अहिले १५०–२०० जना मात्रै छन् । उहाँले भन्नुभयो, “काम तीव्र गतिमा हुँदा महिनामा तीन÷चार प्रतिशतसम्म प्रगति गर्न सकिन्थ्यो तर पछिल्ला केही महिनामा त्यो सम्भव भएको छैन ।” सडक विस्तार अन्तर्गत पुल, कलभर्ट, अन्डरपास, नाली र पर्खाल लगाउने काम भइरहेको छ ।

    हाल आरसिसी रिटेनिङ वाल, बक्स कलभर्ट, बक्स ब्रिज, एनिमल क्रसिङ स्ट्रक्चर र पुलहरूको फाउन्डेसनका काम तीव्र रूपमा भइरहेका छन् । वाणगङ्गा नदीमा तीन सय मिटर लम्बाइको पुल निर्माण भइरहेको छ । इन्जिनियर न्यौपानेले यसको जटिल आधार संरचना (फाउन्डेसन) पूरा भइसकेको र अब संरचनात्मक जडानका लागि तयारी भइरहेको बताउनुभयो । गोरखापत्र



    lumbinisanjal   
  • २०८२ कार्तिक २, आईतवार १२:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP