• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कालीगण्डकीमा वर्षकै उच्च बहाव: विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, तटीय बस्ती जोखिममा

    • lumbinisanjal
    • २०८२ श्रावण १८, आईतवार ०९:४३
    4.1K
    SHARES
    कालीगण्डकीमा वर्षकै उच्च बहाव: विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, तटीय बस्ती जोखिममा

    पर्वत, १८ साउन। लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव वर्षकै उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाले नदीको सतह खतराको सीमा नजिक पुगेको हो।

    आज बिहान कालीगण्डकी नदीमा पानीको बहाव ६ मिटर ४० सेन्टिमिटरसम्म पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए। यो यस वर्षकै सबैभन्दा बढी मापन हो। बिहान ७.४० मिटरको विन्दुमा पुगेको बहाव अहिले केही घट्दै गएको उनले बताए।

    नदीको बहाव बढेसँगै पर्वतको जलजला गाउँपालिका अन्तर्गत बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट; कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीबेणी; फलेवास नगरपालिकाको जैमिनीघाट तथा विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका छन्।

    उक्त बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ। पवित्र शालिग्राम क्षेत्रका सत्तल र संरचनाहरू पनि पानीले डुबाएको शिला क्षेत्र संरक्षणमा सक्रिय तिलक पराजुलीले जानकारी दिए। उनले बनाइएको तटबन्ध र ग्याबियन संरचना समेत पुरिएको बताए।

    कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिएको भए पनि बाँधकै कारण सेतीवेणीबजार क्षेत्र डुबानको उच्च जोखिममा छ। कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रमा रहेका झन्डै २०० व्यापारी र सर्वसाधारण जोखिममा परेका छन्।

    स्थानीय व्यवसायी विष्णु न्यौपानेका अनुसार, सन् २०६६ साल असोज २१ गतेको डुबान त्रास अझै हटेको छैन। त्यो समयमा तीन दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका थिए। अहिले बजार क्षेत्र डुबानमा नरहे पनि शालिग्राम शिला डुबानमा परेकाले चिन्ता थपिएको उनको भनाइ छ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण १८, आईतवार ०९:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP