• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    आचारसंहिता पालना नगर्दा काउन्सिलमा उजुरी पर्न सक्छ : मुख्य अधिकृत भुसाल

    • lumbinisanjal
    • २०८२ असार १५, आईतवार ०९:३०
    3.1K
    SHARES
    आचारसंहिता पालना नगर्दा काउन्सिलमा उजुरी पर्न सक्छ : मुख्य अधिकृत भुसाल

    झापा ,१५ असार । झापाका पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पालना गर्दै मर्यादित र जिम्मेवार पत्रकारको भूमिका निर्वाह गर्न सूझाव दिइएको छ ।

    नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको पत्रकार आचारसंहिता जागरण र स्थानीय तह रिपोर्टिङ बहस कार्यक्रममा यस्तो सूझाव दिइएको हो ।

    नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाउँलेले पत्रकारहरुले आचारसंहिताको पूर्ण पालना गर्दै तल्लो तहको लोकतन्त्रलाई बलियो बनाउन आग्रह गर्नुभएको थियो ।

    पत्रकारहरुले आचारसंहितामा रहेर पत्रकारिता गर्नुपर्ने भन्दै गाउँलेले पछिल्लो समय देखिएका वेथितीहरुले पत्रकारिता क्षेत्रलाई नै संकट बनाइरहेको बताउनुभयो । उहाँले पत्रकारहरु बेलैमा सच्चिन जरुरी रहेको बताउनुभयो ।

    पत्रकारहरुले गर्न हुने र गर्न नहुने विषयहरुमा सहजीकरण गर्दै गाउँलेले खोज समाचार प्रकाशन गरेर जान सूझाव दिनुभयो ।

    समाचारमा भइरहेको कपिपेष्टले पत्रकारहरुमा सिर्जनालाई मार्दै गएको उहाँको भनाई थियो । स्थानीय तहमा पत्रकारहरुले बलियो खवरदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    पत्रकारितामा असल कर्म गरेर मर्यादित र सम्मानित जीवन निर्वाह गर्न सकिने उहाँको भनाई थियो ।

    पत्रकारहरुलाई सहजीकरण गर्दै प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकारहरुलाई आचारसंहिता पालनामा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

    आचारसंहिता पालना नभए समाचारसँग सम्बन्धित व्यक्तिले जुनसुकै बेला पनि काउन्सिलमा उजुरी गर्न सक्ने उहाँको भनाई छ ।

    हरेक नागरिकले आचारसंहिता ख्याल गरे नगरेको विषयलाई चासोको साथ हेरिरहेको जानकारी दिदैं उजुरी र कारबाही बारे अवगत गराउनुभयो। उहांले झापाली पत्रकारहरुलाई जिम्मेवार पूर्वक आचारसंहिताको पालना गर्न आग्रह गर्नुभयो ।

    मुख्य अधिकृत भुसालले विना दर्ता मिडिया सञ्चालन नगर्न सूझाव दिदैं दर्ता प्रक्रियामा आउन आव्हान समेत गर्नुभयो । पत्रकारहरुले सार्वजनिक हित र सरोकारमा काम गर्नुपर्ने भएकाले सत्यतथ्यमा आधारित रहेर काम गर्न आग्रह गर्नुभयो ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र प्रेस काउन्सिलको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रेस काउन्सिलका सदस्य पदमराज जोशी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले धारणा राख्नु भएको थियो ।



    lumbinisanjal   
  • २०८२ असार १५, आईतवार ०९:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP