• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रेसुङ्गा नगरपालिका गुल्मीको लोगो सार्वजनिक

    • lumbinisanjal
    • २०८१ चैत्र ११, सोमबार १७:२६
    1.7K
    SHARES
    रेसुङ्गा नगरपालिका गुल्मीको लोगो सार्वजनिक

    बुटवल , ११ चैत ।  रेसुंगा नगरपालिकाले लोगो सार्वजनिक गरेको छ । नगरपालिकाले आफ्नो सामाजिक सञ्जाल मार्फत रेसुंगा नगरपालिका, नगर कार्यपालिकाको २०८१ फागुन २७ गते बसेको बैठकको निर्णय अनुसार लोगो सार्वजनिक गरिएको प्रवक्ता राम्जी पन्थीले जानकारी दिनुभयो । लोगो निर्माण रेसुंगा नगरपालिका–२ निवासी रमेश कुँवरले गर्नुभएको हो ।

    प्रवक्ता पन्थीले भन्नुभयो,–‘लोगो निर्माणका लागि धेरै ठाउँहरुमा पठाइएको थियो । सबै समावेश सहितको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगालाई नै केन्द्रमा राखेर रमेश कुँवरले निर्माण गरेको लोगोलाई कार्यापालिका बैठकद्वारा निर्णय गरी सार्वजनिक गरेका हौं ।’

    लोगो रेसुंगा नगपालिकाको साझा पहिचान र महत्व तथा विविधता झल्कने गरी तयार भएको उहाँले बताउनुभयो । ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगा देखि रेसुंगा एयरपोर्टसम्म तथा लागीगुराँस देखि खुर्पेटो सम्मलाई बडो आकर्षक रुपमा समावेश गरिएको पन्थीले बताउनुभयो ।

    लोगोमा शान्ति, स्थिरता र बौद्धिकताको प्रतिकका रुपमा नीलो रंगका अक्षरहरुको प्रयोग गरिएको छ । राष्ट्रिय पहिचान र एकताको प्रतीकका रुपमा नेपालको राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ । यस्तै रेसुंगाको डाँडालाई पनि लोगोमा आर्कषक रुपमा उतारिएको छ । रेसुंगा एक पवित्र तपोभूमि रहेको र कैयौं तपस्वीहरुले तपस्या गरेकाले यसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्वलाई उजागर गर्न लोगोमा समावेश गरिएको प्रवक्ता पन्थीले जानकारी दिनुभयो ।

    यस्तै रेसुंगामा अवस्थित यज्ञशाला पनि लोगोमा समावेश छ । धार्मिक, आध्यात्मिक, सामाजिक तथा पर्यावरणीय शुद्धताको प्रतीकका रुपमा यज्ञशाला समावेश गरिएको र जसबाट सकरात्मक ऊर्जा उत्पन्न हुने उल्लेख छ । यस्तै तपस्यामा लिप्त विभाण्डकपुत्र महर्षि ऋष्यशृङ्गलाई बडो आकर्षक रुपमा प्रस्तुत गरिएको छ । ‘यज्ञशालाको अगाडी तपस्यामा लिप्त विभाण्डकपुत्र महर्षि ऋष्यशृङ्ग एक चमत्कारिक तथा प्रसिद्ध पौराणिक ऋषि हुनुहुन्छ ।’ उहाँले भनुभयो,–‘जसको शिरमा एउटा सिङ्ग थियो भन्ने महाभारतमा उल्लेख भएको पाइन्छ ।’

    ऋष्यशृङ्गले रेसुंगामा आएर तपस्या गर्नुभएको र अंगदेशमा वर्षा गराउनुभएको तथा अयोध्यामा पुत्रेष्टि महायज्ञ गराउनुभएकोले परिणाम स्वरुप अयोध्याका राजा दशरथलाई चार पुत्रलाभ भएको उहाँले बताउनुभयो । त्यस्ता चमत्कारिक महर्षि ऋष्यशृङ्गका नाम अपभ्रंश भई रेसुंगाको नाम रहन गएको र त्यही रेसुंगाबाट रेसुंगा नगरपालिका बनेको समेत उल्लेख गर्नुभयो ।

    लोगोमा गरुडको चित्र पनि समावेश गरिएको छ । लोगोमा प्रयोग गरिएको गरुडको चित्रले रेसुंगामा अवस्थित गरुडस्थानलाई चित्रित गर्ने भन्दै जहाँ गरुडले समुद्र मन्थनको क्रममा निस्किएको अमृत असुर शक्तिहरुबाट जोगाउन अमृतको घडा लिएर उड्ने क्रममा अमृतको थोपा यस रेसुंगा क्षेत्रमा झरेको जनविश्वास रहेको छ । यसको इतिहास कुम्भमेलासँग जोडिन्छ । गरुडले अमृत असुर शक्तिहरुबाट जोगाउने क्रममा जहाँ–जहाँ अमृतका थोपा झरेका थिए । ती स्थानहरुमा अहिले पनि कुम्भ मेला लाग्ने गर्दछ । शास्त्रअनुसार १२ वटा स्थानमा अमृतका थोपा झरेका थिए ।

    तर हालसम्म जम्मा ५ वटा स्थानमा मात्र पत्ता लागिसकेका छन् । ती ५ स्थान इलाहाबाद, उज्जैन, नासिक, हरिद्वार र चतराधाम हुन् ।
    नगरपालिका भित्र रहेका १४ वडाहरुको प्रतीकका रुपम १४ वटा गुराँसका थुँगाहरुको आकर्षक तरिकाले प्रयोग गरिएको छ । रेसुंगाको कृषि तथा सांस्कृतिक विविधताको प्रतिनिधित्वका लागि मकै, सुन्तला, लाखे र खुर्पेटोको प्रयोग गरिएको छ ।

    समावेशीकरण, विविधता, सद्भाव, स्वतन्त्रता, शान्ति, रुपान्तरण र प्रेरणाको प्रतीकका रुपमा बहुरंगी रंगहरुको प्रयोग गरिएको छ । केही समय अघि मात्रै रेसुंगा नगरपालिका–२ निवासी रमेश कुँवरकै डिजाइनमा जिल्ला प्रशासन कार्यालयको पर्खालमा आर्कषक भित्ते मुरालहरु तयार गरिएको थियो । जसले यहाँ आउने धेरैको ध्यान तानिरहेको छ ।

     



    lumbinisanjal   
  • २०८१ चैत्र ११, सोमबार १७:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP