• २०८३ आश्विन ८ | Thu, 24 Sep 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेशमा धेरै भारी वर्षा, कोसी र गण्डकीमा भारी वर्षा

    • lumbinisanjal
    • २०८३ आश्विन ८, बिहीबार ०९:१७
    65
    SHARES
    लुम्बिनी प्रदेशमा धेरै भारी वर्षा, कोसी र गण्डकीमा भारी वर्षा

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ।

    महाशाखाले आज बिहीबार बिहान सवा ६ बजे जारी गरेको विवरणअनुसार कोसी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको छ।

    यतिबेला कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ।

    वर्षा विवरणको नक्सा

     

    मौसम महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने पश्चिमी वायुको पनि आंशिक प्रभाव छ। साथै बंगालको खाडीको न्यूनचापीय क्षेत्र (डिप्रेसन) हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का रूपमा छ। आगामी दिनमा यो थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।

    जसको प्रभाव नेपालमा पर्ने र आगामी शुक्रबारदेखि आइतबारसम्म भारी, धेरै भारी र अति भारीसम्म वर्षा हुने सम्भावना छ। नेपालमा यसको आंशिक प्रभाव बुधबारदेखि नै परिसकेको मौसमविद्ले बताएका छन्।

    हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

    मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

    यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

    एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

    मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

    अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

    यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

    अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।



    lumbinisanjal   
  • २०८३ आश्विन ८, बिहीबार ०९:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP