• २०८३ भाद्र २९ | Mon, 14 Sep 2026
  • Dark Mode

          Subscribe

    बाढीपीडित उत्तरगया गाउँपालिकाका अध्यक्षको आक्रोश: सरकार आकाश र सामाजिक सञ्जालमा देखिन्छ

    • lumbinisanjal
    • २०८३ भाद्र १२, शुक्रबार ०८:३०
    325
    SHARES
    बाढीपीडित उत्तरगया गाउँपालिकाका अध्यक्षको आक्रोश: सरकार आकाश र सामाजिक सञ्जालमा देखिन्छ

    ‘म आबद्ध पार्टीका विष्णु पौडेल र गोकर्ण विष्टबाहेक कसैले खोजी गर्नुभएको छैन’

    बाढीपीडित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सरकारले उद्धार र राहतको उचित व्यवस्था गर्न नसकेको भन्दै आक्रोश पोखेका छन्।

    आज शुक्रबार बिहानै सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले केन्द्रीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखिएको टिप्पणी गरेका हुन्।

    ‘बाढीका कारण ठुलो संख्यामा सुरक्षाकर्मी बेपत्ता हुनुहुन्छ। बाँकी रहनुभएको कालिकास्थानको इन्स्पेक्टरसहित ५/६ जना प्रहरी जवानहरू खाना पानीबेगर खटिनुरहनुभएको छ। माथिको आदेशबाहेक सामान्य सुरक्षा दिने कामबाहेक केही गर्न सक्नुहुन्न। सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरेर खोल्दा डाटा चल्यो र सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोस्ट पढेँ’ गाउँपालिका अध्यक्ष अर्यालले लेखेका छन्, ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ। सामाजिक सञ्जालमा देखिन्छ। मैले अघि नै भनेँ- केही क्षेत्रमा बाहेक विपद्‌को अवस्थामा जनताले अनुभूति गर्नेगरी कुनै काम भएको छैन। जनताको प्रतिनिधि भएको र भुइँमा नै काम गरिरहेको स्रोतसाधन र आफ्नो कार्यालयको परिवारको सदस्य र सयौँ जनताहरू गुमाएको प्रतिनिधिले अनुभूति गरेको विषय हो।’

    यस्तै उनले आफ्नो पार्टी नेकपा एमालेको नेतृत्वप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

    ‘म आबद्ध पार्टी छ, सबैभन्दा क्षमतावान्, अनुभवी र दूरदर्शी नेतृत्व भएको दाबी गर्ने त्यसको नेतृत्व छ। २/२ पटक केन्द्रीय सदस्य भएको म केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक कसैले खोजी गर्नुभएको छैन’, उनले लेखेका छन्, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चासो र चिन्ता व्यक्त गर्नुभयो। सुरेन्द्र पाण्डेलगायत देशभरका नेता एवं सहयोद्धा साथीहरूले चासो र चिन्ता व्यक्त गर्नुभयो। सार्वजनिक सञ्जालमा देखेF- नेकपा एमालेको आकस्मिक सचिवालय बैठक भनेर। परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ। यसले पीडितलाई थप पीडा दिनेछ। के गर्न सकिन्छ- मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौँ। नेकपा एमालेको संस्कार र संस्कृति यही हो। यी विषयहरू मैले उठाउनैपर्ने भएर मैले आफ्नो धारणा राखेको यसलाई धेरै नकारात्मक भएछ भनेर नबुझिदिनुहोला।’

    यस्तो छ उनको पूरा भनाइ

    सबैमा नमस्कार

    यतिबेला म बाढीले सर्वनाश गरेको क्षेत्रमा नै छु। बाढीको सूचना जारी गर्न खटिनुभएका हाम्रो होनहार कर्मचारीहरू ४ जना अहिलेसम्म बेपत्ता हुनुहुन्छ भने १ सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको पहिचानपछि दाहसंस्कार गरिएको छ। कार्यपालिका सदस्य ज्ञानु विक, केही शिक्षकहरूसँग सम्पर्क हुन सकिरहेको छैन। वेत्रावती बजार क्षेत्र, कैदलेटार, पैरेबेँसी, भुकम्पबाट विस्थापित भएर ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका झण्डै ३०० घर परिवार, सल्लेटार, मैलुङ क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू, त्रिशुली ३बी जलविद्युत आयोजनाको ठुलो संख्याका कर्मचारी र कामदारहरू, माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत कोरियन, चाइनिज, भारतीय र नेपाली कामरहरू ठुलो संख्यामा हराइरहनुभएको छ। सुरुङभित्र फसेको भन्ने खबर आइरहेको छ। गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्कनुभएको धेरै यात्रीहरू हराइरहनुभएको छ। हराइरहनुभएका नजिकका आफन्तहरूले सम्पर्क गरेर हारगुहार गरिरहनुभएको छ। सडक सम्पर्कबाट यो क्षेत्र पूर्ण रूपमा विच्छेद छ। विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कमा समस्या आएको र मोबाइल अफ भएर सम्पर्क हुन सकिरहेको छैन। टिमुरे, स्याफ्रुबेँसी क्षेत्रमा धेरै नै मानवीय क्षति पुगेको छ। त्यो भन्दा बढी मैलुङ, सल्लेटार, पैरेबेँसी, कैदलेटार र वेत्रावती क्षेत्रमा अकल्पनीय मानवीय क्षति पुगेको छ। घरवारविहीन परिवारका सदस्यहरूको संख्या उल्लेख्य छ।

    मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सबै निकायहरूमा समन्वय गरेर हेलिकप्टरको प्रतीक्षा गर्दा पनि कुनै सुनुवाइ नभएपछि कालिकास्थान जिबजिबे अस्पताल हुँदै १० घण्टापछि धुन्चे अस्पतालमा लानुपर्ने अवस्था हामीले भोगेका छौँ। खोलाको किनारमा ५०औँ शवहरू देखिन्छ, परिवारका सदस्यहरूले पहिचान गरेका शवहरू दाहसंस्कार गर्न फिल्डमा रहेका प्रहरीसँग सयन्वय गर्दा माथिको आदेशबाहेक केही गर्न मिल्दैन भन्ने जवाफ पाइन्छ।

    बाढीका कारण ठुलो संख्यामा सुरक्षाकर्मी बेपत्ता हुनुहुन्छ। बाँकी रहनुभएको कालिकास्थानको इन्स्पेक्टरसहित ५/६ जना प्रहरी जवानहरू खाना पानीबेगर खटिनुरहनुभएको छ। माथिको आदेशबाहेक सामान्य सुरक्षा दिने कामबाहेक केही गर्न सक्नुहुन्न। सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरेर खोल्दा डाटा चल्यो र सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोस्ट पढेँ।

    हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ। सामाजिक सञ्जालमा देखिन्छ। मैले अघि नै भनेँ- केही क्षेत्रमा बाहेक विपद्‌को अवस्थामा जनताले अनुभूति गर्नेगरी कुनै काम भएको छैन। जनताको प्रतिनिधि भएको र भुइँमा नै काम गरिरहेको स्रोतसाधन र आफ्नो कार्यालयको परिवारको सदस्य र सयौँ जनताहरू गुमाएको प्रतिनिधिले अनुभूति गरेको विषय हो।

    आफन्त गुमाएका र घरवारविहीनहरूको आवाज पनि हो। केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएको थिएँ। गृहमन्त्रीको सचिवालयबाट फोन आयो- नकारात्मक प्रचार नगरिदिनुहोला, राजनीति नगर्नुहोला भन्दै हुनुहुन्थ्यो।

    मैले जवाफ दिएँ- हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ।

    म आबद्ध पार्टी छ, सबैभन्दा क्षमतावान्, अनुभवी र दूरदर्शी नेतृत्व भएको दाबी गर्ने त्यसको नेतृत्व छ। २/२ पटक केन्द्रीय सदस्य भएको म केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक कसैले खोजी गर्नुभएको छैन।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चासो र चिन्ता व्यक्त गर्नुभयो। सुरेन्द्र पाण्डेलगायत देशभरका नेता एवं सहयोद्धा साथीहरूले चासो र चिन्ता व्यक्त गर्नुभयो। सार्वजनिक सञ्जालमा देखेF- नेकपा एमालेको आकस्मिक सचिवालय बैठक भनेर। परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ। यसले पीडितलाई थप पीडा दिनेछ। के गर्न सकिन्छ- मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौँ। नेकपा एमालेको संस्कार र संस्कृति यही हो। यी विषयहरू मैले उठाउनैपर्ने भएर मैले आफ्नो धारणा राखेको यसलाई धेरै नकारात्मक भएछ भनेर नबुझिदिनुहोला।

    अहिलेको अवस्था

    -हाम्रो क्षेत्रका लगभग ३५० प्रभावितहरूलाई नीलकण्ठ मावि बोगटीटारमा राखेका छौँ।

    -कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्नलगायतका अन्य सहयोग गरेर ठुलो पुण्यकर्म गर्नुभएको छ। यो खाद्यान्नले थप तीन दिनलाई धान्ने देखिन्छ।

    -विद्यालयको कोठाको भुइँमा कालो म्याट्रेसमा रात कटाउनुपर्ने अवस्था छ।

    -मनकारी स्थानीय वासिन्दाहरूले घरमा नै आश्रय दिएर राख्नुभएको छ।

    -नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरू, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक बालबालिकाहरू उनीहरूको संवेदनशील अवस्थाअनुसार गर्नुपर्ने विशेष सहयोग गर्न सकिरहेका छैनौँ।

    -नदी किनारामा पचासौँको सङ्ख्यामा रहेका शवहरू सढेर गाउँ नै दुर्गन्धित हुन थालेको छ। जसको कारण संक्रमण भई स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने सम्भावना छ।

    -बिरामीहरूको संख्या बढ्दो क्रममा छ। उहाँहरूलाई तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्नेछ।

    -पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा धेरैजना हुनुहुन्छ भन्ने खबर छ। त्यहाँ खाद्यान्नलगायत अन्य सामानको अभाव छ। उहाँहरूलाई तत्काल उद्धार गरी सुरक्षित ठाउँमा आवासको व्यवस्था गर्नुपर्नेछ।

    -त्रिशूली नदी वारि र पारि फस्नुभएका परिवारबाट विच्छेद हुनुभएका सदस्यहरूलाई उद्धार गरी परिवारसँगै राख्ने व्यवस्था गर्नुपर्नेछ।

    -केही सहयोगी संघसंस्थाहरूले सहयोग गर्ने कुरा गरिरहनुभएको छ। त्यसको लागि आवश्यक सहजीकरण गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गर्दछु।

    -घरबारविहीनहरू, हराइरहनुभएकाहरू, अभिभावकविहीन बालबालिकाहरू, ध्वस्त भएका सार्वजनिक र व्यक्तिको घरलगायतको तथ्यांक संकलन भइरहेको छ।

    प्रमुख जिल्ला अधिकारीसँग हिजो साँझ सम्पर्क भएको छ। उहाँले तत्काल गर्नुपर्ने काम आजबाट सुरु हुने जानकारी गराउनुभएको छ। स्थानीय सरकारका जनप्रतिनिधिहरूसित समन्वय गरेर आजबाट राज्यको नजरमा ओझेल परेका यी क्षेत्रमा माथि उल्लेख गरिएका कामहरू सुरु हुनेछ भन्ने विश्वास लिएको छु। आफन्त परिवार र घरवारविहीन जनताले त्यसको अनुभूति गर्न पाउनेछन्।



    lumbinisanjal   
  • २०८३ भाद्र १२, शुक्रबार ०८:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP