• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    आरटीआईको आठौँ वर्ष प्रवेश : सय युवालाई निःशुल्क सीपमूलक तालिम

    • lumbinisanjal
    • २०८३ श्रावण २८, बिहीबार १७:५७
    260
    SHARES
    आरटीआईको आठौँ वर्ष प्रवेश : सय युवालाई निःशुल्क सीपमूलक तालिम

    बुटवल । रुपन्देही ट्रेनिङ इन्स्टिच्युट (आरटीआई) बुटवलले सात वर्षको यात्रा पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको अवसरमा सय जना युवालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने घोषणा गरेको छ। रोजगारी, स्वरोजगार र उद्यमशीलतासँग जोडिने व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले संस्थाले ‘आरटीआई सीएसआर इनिसियटिभ–२०२६’ अघि सारेको हो।

    आठौँ वर्ष प्रवेशका अवसरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका सञ्चालक सागर पाण्डेले विद्यार्थी, अभिभावक र समाजले सात वर्षदेखि गरेको विश्वासलाई सामाजिक उत्तरदायित्वमार्फत समाजमै फर्काउने उद्देश्यले अभियान सुरु गरिएको बताए।

    “आठौँ वर्ष प्रवेश हाम्रा लागि केवल उत्सव मनाउने समय होइन, समाजप्रतिको जिम्मेवारी अझ बढाउने समय हो। हामीमाथि गरिएको विश्वासको केही अंश समाजलाई फर्काउनुपर्छ भन्ने महसुस गरेर यो अभियान सुरु गरेका हौँ,” पाण्डेले भने।

    अभियानअन्तर्गत आरटीआईमा सञ्चालन हुने रोजगारमूलक तालिममध्ये सहभागीको रुचि, आवश्यकता, योग्यता र क्षमताका आधारमा उपयुक्त तालिम छनोट गरिनेछ। तालिमका लागि सहभागीबाट कुनै शुल्क नलिइने संस्थाले जनाएको छ।

    संस्थाकी सञ्चालक पूर्णिमा भुसाल पाण्डेले अभियानको उद्देश्य केवल निःशुल्क प्रमाणपत्र वितरण गर्नु नभई युवालाई व्यवहारिक सीप दिएर उनीहरूको भविष्यमा वास्तविक परिवर्तन ल्याउनु रहेको बताइन्।

    आर्थिक तथा अन्य कारणले सीप सिक्ने अवसरबाट वञ्चित भइरहेका, तर केही गर्ने इच्छा र क्षमता भएका युवालाई कार्यक्रममा प्राथमिकता दिइने उनको भनाइ छ।

    “सीप सिक्ने इच्छा छ, अगाडि बढ्ने सपना छ तर अवसरको अभाव छ भने त्यस्ता युवासम्म यो कार्यक्रम पुग्नुपर्छ। हामीले दिएको तालिम उनीहरूको रोजगारी, स्वरोजगार वा उद्यमशीलताको बाटो बन्न सकोस् भन्ने हाम्रो चाहना हो,” पूर्णिमाले भनिन्।

    रोजगार बजारको मागअनुसार उपयोगी र व्यवहारिक सीप विकासमा जोड दिँदै संस्थाले आगामी दिनमा आफ्नो सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने जनाएको छ।

    सञ्चालक सागर पाण्डेले आरटीआईको आगामी यात्रा संस्था विस्तारमा मात्र सीमित नभई सीप, रोजगारी र अवसर सिर्जनामार्फत समाजमा योगदान पुर्‍याउनेतर्फ केन्द्रित हुने बताए।

    ‘सय युवा, सय अवसर’को भावनासहित अघि बढाइएको यो अभियानले अवसरको खोजीमा रहेका युवालाई सीपसँग जोड्दै उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास संस्थाले व्यक्त गरेको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण २८, बिहीबार १७:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP