• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मौसममा सुधार, अब तत्काल पानी नपर्ने

    • lumbinisanjal
    • २०८१ फाल्गुन १८, आईतवार ०३:३९
    2.3K
    SHARES
    मौसममा सुधार, अब तत्काल पानी नपर्ने

    बुटवल , १८ फाल्गुन । आजदेखि मौसममा पूर्ण सुधार आएको छ । काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा घाम लागेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अब तत्काल पानी पर्ने सम्भावना पनि नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

    प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उहाँको सुझाव छ ।

    हिउँद सुक्खा भएर बित्नै आँटेका बेला गएको तीन दिन देशका धेरै ठाउँमा वर्षा र हिमपात भयो । पहाडका त धेरैजसो ठाउँमा नै पानी पर्यो । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुँदा किसान उत्साहित भएका छन् ।

    यो हिउँदमा लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न लागेका थिए । वर्षा र हिमपात भएका ठाउँमा विशेषगरी गहुँ, जौ, उवालगायतका अन्नबाली, तरकारी/फलफूललाई थोरै भए पनि राहत पुगेको कृषि विज्ञ बताउँछन् ।

    ढिलोगरी वर्षासँगै भएको हिमपातले आकाशे पानीको पर्खाइमा रहेका किसान पनि खुशी भएका छन् । जहाँ सिँचाइको अभाव छ, ती क्षेत्रमा राहत पुगेको छ ।

    स्याउ र ओखरका बिरुवा रोप्न हिमपातका कारण सहज भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले बताउनुभयो ।

    त्यस्तै अहिले चैते धानबाली, वसन्ते मकैजस्ता बालीको पनि तयारी गर्ने बेला हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालका अनुसार वर्षा र हिमपातले जमिन भिजेको हुँदा थोरै भए पनि किसानलाई राहत भएको छ । अब जमिन चिसो भएकाले वसन्ते मकै, तरकारी र फलफूलको तयारी गर्न उहाँको सल्लाह छ ।

    तत्काल पानी पर्ने सम्भावना नरहेकाले यही चिस्यानको सदुपयोग गर्न उहाँको सुझाव छ । पछिसम्म सिँचाइ आवश्यक पर्ने हिमाली क्षेत्रका किसानले हिउँ सङ्कलन गरी राख्न सक्ने केन्द्रका प्राविधिक अधिकृत रिमालले बताउनुभयो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १८, आईतवार ०३:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP