• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    नवीन औद्योगिक माविमा नवआगन्तुक विद्यार्थीलाई सफलताको मन्त्र, उत्कृष्ट प्रतिभा सम्मानित

    • lumbinisanjal
    • २०८३ असार ३, बुधबार १०:४७
    741
    SHARES
    नवीन औद्योगिक माविमा नवआगन्तुक विद्यार्थीलाई सफलताको मन्त्र, उत्कृष्ट प्रतिभा सम्मानित

    बुटवल, ३ असार । नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय, बुटवलमा विज्ञान तथा सिभिल इन्जिनियरिङ्गतर्फ कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख तथा नेपाल सरकारका उपसचिव श्रीनाथ पौडेलले एसईई उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिँदै गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनमा अग्रणी विद्यालयमा अध्ययन गर्ने अवसर पाउनु विद्यार्थीहरूको सौभाग्य भएको बताए। उनले विद्यार्थीले आफ्नो रुचिअनुसारको विषय छनोट गरी अध्ययन गरेमा सफलता सहजै प्राप्त गर्न सकिने उल्लेख गरे।

    उपसचिव पौडेलले कक्षा ११ र १२ का विद्यार्थीहरू किशोरावस्थाको संवेदनशील चरणमा रहेकाले आफ्नो ऊर्जा र आत्मविश्वासलाई सकारात्मक गतिविधिमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। विद्यालयले औपचारिक शिक्षासँगै सीपमूलक शिक्षा पनि प्रदान गरिरहेकाले त्यसबाट लाभ लिन विद्यार्थीलाई आग्रह गरे।

    बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्प्रेरणात्मक वक्ता डा. आविष्कार पराजुलीले विद्यार्थीहरूको व्यक्तित्व विकास, लक्ष्य निर्धारण र सफलताको यात्रासम्बन्धी प्रेरणादायी सहजीकरण गरेका थिए।

    विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै विद्यालयका उपलब्धि र चुनौतीहरू प्रस्तुत गरेका थिए। सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थी आचारसंहिता २०८३ अन्तर्गत अनुशासन, पोशाक र कपाल व्यवस्थापनलगायत विषयमा जानकारी गराएका थिए।

    विज्ञान समूहका इन्चार्ज लक्ष्मीनारायण चौधरीले विज्ञान तथा सिभिल इन्जिनियरिङ्ग अध्ययन गर्ने विद्यार्थीहरूले ध्यान दिनुपर्ने विषयहरूबारे स्पष्ट पारेका थिए भने नवीन विद्यार्थी क्लबका अध्यक्ष लक्ष्मी पाण्डेले क्लबका गतिविधि र अवसरहरूबारे जानकारी गराएका थिए।

    कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीद्वारा आयोजित रुपन्देही र नवलपरासी जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी एलिशा थापा, सिर्जना यादव र टिकादेवी चौधरीलाई सम्मान गरिएको थियो। साथै स्टेम (STEM) प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने प्रमोद आचार्य र प्रतिज्ञा चन्द तथा उनीहरूलाई समन्वय गर्ने भौतिकशास्त्र शिक्षक विनयकुमार विकलाई समेत सम्मान गरिएको थियो।

    विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमअन्तर्गत आकर्षक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन कक्षा १२ विज्ञान संकायकी विद्यार्थी प्रतिज्ञा चन्दले गरेकी थिइन्। विद्यालयमा हाल विज्ञान, सिभिल इन्जिनियरिङ्ग, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन तथा शिक्षा संकायमा अध्ययन–अध्यापन हुँदै आएको छ।



    lumbinisanjal   
  • २०८३ असार ३, बुधबार १०:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP