• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सकियो ‘दीप गायन तारा’को अडिसन, १७ जना फाइनलमा छनोट फाइनल प्रतिस्पर्धा फागुन ४ गते

    • lumbinisanjal
    • २०८२ फाल्गुन २, शनिबार १५:५७
    1.7K
    SHARES
    सकियो ‘दीप गायन तारा’को अडिसन, १७ जना फाइनलमा छनोट फाइनल प्रतिस्पर्धा फागुन ४ गते

    बुटवल, २ फागुन । दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित तेह्रौँ संस्करणको ‘दीप गायन तारा’ प्रतियोगिताको छनोट चरण शुक्रबार सम्पन्न भएको छ। विद्यालयले हरेक वर्ष गीत–सङ्गीतको क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्देश्यसहित यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

    बुटवल–सुख्खानगरस्थित विद्यालय परिसरमा सम्पन्न अडिसन चरणमा रुपन्देहीका सरकारी तथा निजी विद्यालयका कक्षा १० सम्म अध्ययनरत ४५ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए। अडिसनबाट उत्कृष्ट १७ जना फाइनल चरणका लागि छनोट भएका छन्।
    फाइनलमा छनोट हुनेमा गौरव गुरुङ, रिवाज सारु, अभिमन्यु सुनार, प्रिन्स कँडेल, शुसान्त क्षेत्री, विशिका परियार, मेलिसा परियार, साकार शाही, जेसन बराल, अंकुर बराल, खुसी राना, रिजन काफ्ले, प्रज्ञा न्यौपाने, असिम राना, रेजिन थापा, नितेश पौडेल र सोनाक्षी क्षेत्री रहेका छन्। छनोट भएका प्रतियोगीहरूको फाइनल प्रतिस्पर्धा फागुन ४ गते हुने छ।

    कार्यक्रम संयोजक शिक्षक कृष्ण भुसालका अनुसार फाइनल चरणमा पनि प्रतियोगीहरूले ट्रयाकसहित गीत गाउनुपर्नेछ। यस चरणमा प्रतियोगीले एक राष्ट्रिय गीत र एक स्वेच्छिक गीत प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ। फाइनलबाट उत्कृष्ट पाँच जनालाई पुरस्कृत गरिनेछ। प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, सान्त्वना हुने दुई जनालाई जनही ५–५ हजार रुपैयाँ प्रदान गरिनेछ।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले विद्यालयका अतिरिक्त क्रियाकलापलाई ‘अतिरिक्त’ नभई अनिवार्य विषयवस्तुका रूपमा लिनुपर्नेमा जोड दिए। उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा यस्ता गतिविधिको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

    विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले शैक्षिक गुणस्तरसँगै विद्यार्थीको प्रतिभा उजागर गर्न विद्यालयले नियमित रूपमा यस्ता प्रतियोगिता सञ्चालन गर्दै आएको बताए। विद्यालय अध्यक्ष राजेन्द्र ध्वजूले दीप बोर्डिङ हाई स्कुल शैक्षिक उत्कृष्टतासँगै समग्र व्यक्तित्व विकासमा केन्द्रित रहेको धारणा व्यक्त गरे।
    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले विद्यालयस्तरका विद्यार्थीलाई गायन क्षेत्रमा उपयुक्त प्लेटफर्म दिएको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरे। प्रतियोगितामा वरिष्ठ सङ्गीतकार नारायणबहादुर थापा, गायक तथा सङ्गीतकार तेजु अर्याल र वसन्त श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए।

    उल्लेखनीय छ, यस प्रतियोगिताबाट हालसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठलगायत १२ जना ‘दीप गायन तारा’ बन्न सफल भइसकेका छन्। वि.सं. २०३७ सालमा स्थापना भएको दीप बोर्डिङ हाई स्कुलले यही फागुन ५ गते ४५औँ वार्षिकोत्सव मनाउँदैछ। हाल विद्यालयमा करिब २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २, शनिबार १५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP