• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा दोस्रो लखन कपको तयारी पूरा, वैशाख ११ देखि नकआउट प्रतिस्पर्धा हुने

    • lumbinisanjal
    • २०८३ बैशाख ५, शनिबार २०:४३
    1.3K
    SHARES
    बुटवलमा दोस्रो लखन कपको तयारी पूरा, वैशाख ११ देखि नकआउट प्रतिस्पर्धा हुने

    बुटवल, ५ बैशाख । बुटवलमा आयोजना हुने दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। वैशाख ११ गतेदेखि सुरु हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
    शनिबार आयोजित पत्रकार सम्मेलनमा लखन ब्रदर्श युथ क्लबका अध्यक्ष सुदिप खत्रीले प्रतियोगिता सञ्चालनका लागि करिब एक महिनादेखि मैदान मर्मत, व्यवस्थापन तथा स्थायी स्टेज निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिए। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा क्लबको आयोजनामा बुटवल–रामनगरस्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने उनले बताए।
    पहिलो संस्करण सिद्धेश्वर मैदानमा आयोजना गर्दा पूर्वाधार निर्माणमा उल्लेख्य खर्च भएको उल्लेख गर्दै अध्यक्ष खत्रीले यसपटक पनि मैदान व्यवस्थापनमा मात्रै करिब २ लाख रुपैयाँभन्दा बढी खर्च हुने बताए।
    प्रतियोगिताको विजेताले नगद ३ लाख १ हजार १११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ५१ हजार १११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र हात पार्नेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २० हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। अन्य विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई जनही १० हजार १११ रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।
    क्लबका सचिव निरन्जन पन्तका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १९ लाख रुपैयाँभन्दा बढी खर्च अनुमान गरिएको छ।
    प्रतियोगितामा रुपन्देही, नवलपरासी र पाल्पाका गरी १२ टिमको सहभागिता रहने संयोजक रामबहादुर थापाले जानकारी दिए। सहभागी टिममा आयोजक लखन ब्रदर्श युथ क्लबसहित सुपौली युवा क्लब, देवदह ब्वाइज युवा क्लब, फर्साटिकर युवा क्लब, चाँदनी युवा क्लब दानापुर, योङ ब्वाइज खैरेनी, शिवनगर परिवार, तिलोत्तमा–११, न्यू युथ युनियन क्लब पाल्पा, सयपत्री युवा क्लब रामनगर, तारादल गण आर्मी र सुनवल एफसी रहेका छन्।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञ पंगेनीले खेलकुद तथा सामाजिक क्षेत्रमा क्लबले गरेको योगदान प्रशंसनीय रहेको बताउँदै यसलाई नगरकै उत्कृष्ट क्लबका रूपमा स्थापित भएको दाबी गरे।



    lumbinisanjal   
  • २०८३ बैशाख ५, शनिबार २०:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP