• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    दुर्घटनामा ज्यान गुमाएका दुई शेयर सदस्यका परिवारलाई मेहनती सहकारीद्वारा रु २१ लाख बिमा रकम हस्तान्तरण

    • lumbinisanjal
    • २०८३ असार २४, बुधबार १०:५९
    182
    SHARES
    दुर्घटनामा ज्यान गुमाएका दुई शेयर सदस्यका परिवारलाई मेहनती सहकारीद्वारा रु २१ लाख बिमा रकम हस्तान्तरण

    बुटवल । मेहनती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यप्रतिको सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै दुर्घटनामा ज्यान गुमाएका दुई जना शेयर सदस्यका परिवारलाई बिमा योजनाअन्तर्गत प्राप्त कुल रु २१ लाख आर्थिक सहायता हस्तान्तरण गरेको छ।

    संस्थाको वार्षिक नीति तथा बजेट तर्जुमा कार्यक्रमको अवसरमा आयोजित विशेष समारोहमा सहकारीका पदाधिकारी तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थितिमा उक्त रकम सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो।

    दुर्घटनामा निधन भएका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका पूर्व सल्लाहकार तथा सहकारीका शेयर सदस्य स्वर्गीय रुक्माङ्गत बस्यालका परिवारलाई रु ११ लाख प्रदान गरिएको छ। यसमध्ये रु १० लाख सहकारी संस्थाको शेयर सदस्य बिमा योजनाबाट र रु १ लाख नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्य बिमा योजनाबाट प्राप्त भएको हो। उक्त रकम उहाँकी धर्मपत्नी ढाका कुमारी बस्याललाई हस्तान्तरण गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका अध्यक्ष हुमबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

    यस्तै, दुर्घटनामा ज्यान गुमाएका सहकारीका शेयर सदस्य स्वर्गीय भद्र सिंह गुरुङका परिवारलाई सहकारीको शेयर सदस्य बिमा योजनाअन्तर्गत प्राप्त रु १० लाख हस्तान्तरण गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो।

    कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुर गैरैले बिमा योजनामार्फत उपलब्ध गराइएको आर्थिक सहयोगले शोकसन्तप्त परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सदस्यको हित, सुरक्षा र सामाजिक संरक्षणलाई प्राथमिकतामा राखेर सहकारीले सञ्चालन गरिरहेको यस्तो कार्यक्रम अनुकरणीय तथा उदाहरणीय रहेको बताउनुभयो।

    कार्यक्रममा सहभागीहरूले सदस्यको जीवनमा आइपर्ने आकस्मिक विपत्तिमा समेत साथ दिने मेहनती बचत तथा ऋण सहकारीको पहलले सहकारीको सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सदस्यप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको धारणा व्यक्त गरेका थिए ।



    lumbinisanjal   
  • २०८३ असार २४, बुधबार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP