• २०८३ कार्तिक २८ | Fri, 13 Nov 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा तीनदिने ‘दीपावली सडक खाना महोत्सव’ हुँदै, ५० स्टल रहने

    • lumbinisanjal
    • २०८३ कार्तिक १८, मंगलवार १८:०९
    403
    SHARES
    बुटवलमा तीनदिने ‘दीपावली सडक खाना महोत्सव’ हुँदै, ५० स्टल रहने

    सुख्खानगरको सुक्रपथमा कात्तिक २० देखि २२ गतेसम्म महोत्सव, देउसीभैलो प्रतियोगितादेखि राष्ट्रिय कलाकारको प्रस्तुतिसम्म

    बुटवल, कार्तिक १७ । नेपालीको महान् पर्व तिहार (दीपावली) को रौनक बढाउने उद्देश्यले बुटवलमा तीनदिने ‘दीपावली सडक खाना महोत्सव’ आयोजना हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा कात्तिक २० देखि २२ गतेसम्म बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित सुक्रपथमा महोत्सव सञ्चालन हुने भएको हो।

    स्थानीय उत्पादन, रैथाने परिकार, कला, संस्कृति र व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्टल रहने संघका महासचिव बसन्तप्रसाद ढकालले जानकारी दिए।

    महोत्सवलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले विभिन्न जिम्मेवारी बाँडफाँट गरेको छ। बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापन मूल समितिको संयोजकमा अध्यक्ष पौडेललाई जिम्मेवारी दिएको छ।

    त्यस्तै, निवर्तमान अध्यक्ष हरिप्रसाद अर्याललाई मूल्यांकन, वरिष्ठ उपाध्यक्ष सुरज भट्टराईलाई सहसंयोजक तथा उद्योग उपाध्यक्ष दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको महासचिव ढकालले बताए।

    महासचिव ढकाललाई प्रशासन तथा समन्वय, कोषाध्यक्ष टीकाराम बञ्जाडेलाई आर्थिक व्यवस्थापन, सचिव दीपक चापागाईंलाई स्टल तथा पूर्वाधार व्यवस्थापन र सहकोषाध्यक्ष कमला पोखरेललाई सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

    यसैगरी, कार्यसमिति सदस्य रामबहादुर भण्डारीलाई सुरक्षा, दीपक घिमिरेलाई ट्राफिक तथा पार्किङ, विष्णुप्रसाद उपाध्यायलाई सरसफाइ र लेखनाथ भण्डारीलाई स्टल व्यवस्थापनको जिम्मेवारी तोकिएको छ।

    महोत्सव अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। महोत्सवमा स्थानीय तथा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकारसँगै तिहारमा आवश्यक पर्ने खाद्यान्न, फूलमाला तथा अन्य सामग्रीका स्टल राखिनेछन्।

    तिहारको सांस्कृतिक तथा धार्मिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय कला, संस्कृति र परम्पराको पहिचान स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको संघले जनाएको छ। एउटै स्थलमा खानाका विविध परिकार, तिहारका सामग्री, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रम समेटिने भएकाले महोत्सवले चाडपर्वको रौनक बढाउनुका साथै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।

    महोत्सवका तीनवटै दिन विशेष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ। पहिलो दिन औपचारिक उद्घाटनसँगै देउसीभैलो प्रतियोगिता हुनेछ भने दोस्रो दिन स्थानीय (लोकल) ब्याण्डहरूको प्रस्तुति रहनेछ। तेस्रो तथा अन्तिम दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने संघले जनाएको छ।

    मौलिक स्वाद, तिहारको संस्कृति र सांगीतिक मनोरञ्जनलाई एउटै थलोमा समेट्ने महोत्सवले बुटवलवासीसँगै आसपासका क्षेत्रका नागरिकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ कार्तिक १८, मंगलवार १८:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP