• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

    • lumbinisanjal
    • २०८२ चैत्र १५, आईतवार ०७:४६
    1K
    SHARES
    रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

    काठमाडौँ,१५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दाको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

    न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यही चैत १० गतेदेखि सुनुवाइ सुरु भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिँदै आएको छ ।

    यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको थियो ।

    गत फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले नियमित सुनुवाईका लागि पेश गर्न आदेश दिएको यो रिट चैत १ गतेदेखि पटकपटक हेर्दाहेर्दैमा पर्दै आएको छ ।

    तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।

    आफूमाथि राजनीतिक प्रतिशोध साधिएको भन्ने लामिछानेको निवेदन र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ लाई टेक्दै महान्यायाधिवक्ताले उक्त निर्णय गरेकी थिइन्।

    उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।



    lumbinisanjal   
  • २०८२ चैत्र १५, आईतवार ०७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP