• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    विनोद चौधरीसँगको विवादपछि कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निकालिए

    • lumbinisanjal
    • २०८२ असार २५, बुधबार १७:४१
    4.7K
    SHARES
    विनोद चौधरीसँगको विवादपछि कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निकालिए

    काठमाडौं, २५ असार । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निस्कासन गरेको छ ।

    ०७९ मा सम्पन्न निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएपछि कांग्रेसले महामन्त्री खनाललाई पार्टीबाट निस्कासन गरेको हो ।

    केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पठाएको पत्रमा खनाललाई एक वर्षका लागि पार्टीको सदस्यबाट निष्कासन गरिएको उल्लेख छ ।

    पत्रमा ‘स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणको आधारमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क)(ख)र (घ) र उपधारा ८(ङ) बमोजिम निजलाई १ (एक) वर्षको लागि नेपाली कांग्रेसको सदस्यताबाट निस्कासन गर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ’ भनिएको छ ।

    कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा डलर अर्बपति चौधरीले आफूविरुद्ध हृदयश त्रिपाठीलाई जिताउन खनालसहित कोइराला पक्षले भूमिका खेलेको आरोप लगाएका थिए ।

    ‘पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदयश त्रिपाठीका लागि ठाउँ-ठाउँमा, बुथ-बुथमा मान्छे राखिएको थियो । मलाई हराउन हर प्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसिन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन ?’, चौधरीले बैठकमा कांग्रेस नेता शेखर कोइरालालाई प्रश्न गरेका थिए ।

    लुम्बिनी कांग्रेसका महामन्त्री खनाल नेता कोइरालानिकट थिए। केन्द्रीय कार्यसमिति बैठकमै यसबारेमा चर्काचर्की परेपछि यसअघि नै कारबाहीको प्रक्रिया अघि बढेको अवस्थामा सभापति शेरबहादुर देउवाले खनाललाई पार्टीबाट निकालेका हुन् ।

    चौधरीले सभापति देउवालाई सम्बोधन गर्दै शेखरले गुटको राजनीतिको सीमा नाघेको बताएका थिए । उनले आफूविरुद्ध लाग्ने खनाललाई कारबाहीको माग गरेका थिए ।

    त्यसअघि नेता कोइरालाले जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यका लागि नेता चौधरीको योग्यताबारे प्रश्न गरेका थिए । ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?,’ उनले प्रश्न गर्दै भनेका थिए ।

    कोइरालाले पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवाले सभापतिमा प्रतिस्पर्धा गर्ने क्रममा सुजाता कोइरालाको केन्द्रीय सदस्य लड्ने इच्छा भए पनि योग्यताका कारण नपाएको स्मरण गराएका थिए । खनाललाई लिएर दुई गुटबीच जारी तनावबीच देउवाले प्रदेश महामन्त्रीलाई नै पार्टीबाट निकालिदिएका हुन्।

     



    lumbinisanjal   
  • २०८२ असार २५, बुधबार १७:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP