• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा ६९ औं राष्ट्रिय सहकारी दिवस : उद्यमशीलता र पारदर्शितामा केन्द्रित विविध कार्यक्रम

    • lumbinisanjal
    • २०८२ चैत्र १२, बिहीबार १३:१४
    1.2K
    SHARES
    रुपन्देहीमा ६९ औं राष्ट्रिय सहकारी दिवस : उद्यमशीलता र पारदर्शितामा केन्द्रित विविध कार्यक्रम

    बुटवल ,१२ चैत । ६९औं राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा रुपन्देहीमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने राष्ट्रिय नारासहित दिवस मनाउन लागिएको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक गरिएको हो ।

    जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीको नेतृत्वमा गठित मूल आयोजक समितिले सहकारी क्षेत्रको सुदृढीकरणमार्फत जिल्लाको दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले हरेक वर्षझैं यस वर्ष पनि विविध कार्यक्रम सञ्चालन गर्न लागिएकाे जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले जानकारी गराए ।

    उनका अनुसार कार्यक्रममा सहकारीका माध्षमबाट उद्यमशीलता प्रवर्द्धन, सहकारीमा सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै सदस्यको आर्थिक समृद्धि र उत्पादनशील सहकारी विकासमा जोड दिइने छ ।

    कार्यक्रम अन्तर्गत चैत १२देखि १८ गतेसम्म विभिन्न सहकारी संस्थाहरूको आयोजनामा क्षमता विकास तालिम, रक्तदान, सञ्चालक क्षमता अभिवृद्धि, जेष्ठ सदस्य सम्मान तथा कृषि तथा व्यवसायसँग सम्बन्धित तालिमहरू सञ्चालन हुनेछन् ।

    त्यस्तै, सहकारी शिक्षा, वित्तीय साक्षरता, महिला सशक्तिकरण, स्वास्थ्य शिविर, आँखा परीक्षण, खेलकुद प्रतियोगिता, उद्यमशीलता तालिम, नेतृत्व विकास, कृषक प्रशिक्षण लगायतका कार्यक्रमहरू सञ्चालन गरिने रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष वसन्त ढकालले बताए ।

    उनका अनुसार विभिन्न सहकारी संस्थाहरूले आफ्ना क्षेत्रगत प्राथमिकताअनुसार यी कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।
    चैत १९ गते बृहत सरसफाइ तथा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने चैत २० गते बुटवलमा मूल समारोह गरिने छ । उक्त कार्यक्रममा रुपन्देहीमा सहकारीकाे समग्र अवस्थाकाे बारेमा जानकारी गराईने छ ।

    कार्यक्रममा जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, कृषि तथा बहुउद्देश्यीय सहकारी संघ, सामाजिक उद्यमी सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय संघ तथा साना किसान लघुवित्त वित्तीय संस्थालगायत आयाेजककाे रुपमा रहेका छन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र १२, बिहीबार १३:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP