• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    घरदैलोमा चुन्नको लहर : गोलपार्कदेखि तिलोत्तमासम्म उत्साहजनक सहभागिता

    • lumbinisanjal
    • २०८२ फाल्गुन ११, सोमबार २३:१५
    1.1K
    SHARES
    घरदैलोमा चुन्नको लहर : गोलपार्कदेखि तिलोत्तमासम्म उत्साहजनक सहभागिता

    बुटवल, १२ फागुन । आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमै पुगेर आफ्ना योजना प्रस्तुत गर्दै समर्थन मागिरहेका छन्। यसैक्रममा रुपन्देही क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले सातौँ दिनको घरदैलो अभियान अन्तर्गत सोमबार बुटवल उपमहानगरपालिका–३ गोलपार्क तथा तिलोत्तमा नगरपालिका–३ का विभिन्न टोलमा भेटघाट गरेका छन्।
    घरदैलोमा सयौँ नेता–कार्यकर्ता सहभागी भएपछि चुनावी माहोल थप उत्साहित बनेको देखिएको थियो। उम्मेदवार शर्माले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो विकास दृष्टिकोण प्रस्तुत गरेका थिए। उनले बुटवललाई आर्थिक केन्द्रसहित सूचना–प्रविधि (आईटी) हबका रूपमा विकास गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्ने तथा आम्दा अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारे।
    त्यस्तै तिलोत्तमा र सैनामैनालाई योजनाबद्ध आधुनिक सहरका रूपमा विकास गर्ने तथा मोतिपुरसहित ग्रामीण क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा विस्तार गर्ने उनको प्रतिबद्धता छ। शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कक्षा १२ सम्म निःशुल्क शिक्षा र ७० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने उनले बताएका छन्। खानेपानी, सिँचाइ तथा डुबान समस्या समाधान, कृषि–उद्योग प्रवर्द्धन र “एक घर–एक रोजगारी” अभियानमार्फत रोजगारी सृजनामा जोड दिने उनको भनाइ थियो।
    पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र सम्पदा संरक्षणअन्तर्गत पुरानो बटौली क्षेत्रलाई ‘हेरिटेज जोन’ घोषणा गर्ने प्रस्तावसमेत उनले मतदातामाझ राखेका छन्।
    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन मूल समिति संयोजक प्रजापाल गिरीले घरदैलो अभियानमा देखिएको सहभागिता र मतदाताको सद्भावले पार्टी पंक्ति उत्साहित भएको बताए।
    सोमबारको कार्यक्रममा उम्मेदवार चुन्न शर्मा पौडेलसँगै समानुपातिक उम्मेदवार रीता सेन वलीलगायत पार्टीका नेता–कार्यकर्ताले गोलपार्क, चिडियाखोला र तिलोत्तमा–३ का विभिन्न टोलमा पुगेर मत मागेका थिए। निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा चुनावी चहलपहल अझ बढ्ने संकेत देखिएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ११, सोमबार २३:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP