• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    आँसुमा चिठी, हृदयमा आमा र मञ्चमा छोरीको गर्जन: दिप बोर्डिङमा बाल प्रतिभाको भव्य उत्सव

    • lumbinisanjal
    • २०८२ माघ २८, बुधबार १९:२९
    19.9K
    SHARES
    आँसुमा चिठी, हृदयमा आमा र मञ्चमा छोरीको गर्जन: दिप बोर्डिङमा बाल प्रतिभाको भव्य उत्सव

    बुटवल, २८ माघ । “बाबा, तपाईंले पठाउनुभएको पैसाले घरको जग त बलियो भयो होला, छानो पनि फेरियो होला । तर त्यो छानोमुनि तपाईं नहुँदा मलाई यो महल पनि एउटा चिसो गुफा जस्तो लाग्छ ।”

    ​जब कक्षा ७ की छात्रा दित्या सिंह ठकुरीले स्टेजबाट ‘परदेशी बाबालाई छोरीको चिठी’ वाचन गरिन्, तब हलमा उपस्थित सयौँ अभिभावकका आँखा रसाए । वैदेशिक रोजगारीले नेपाली समाजमा निम्त्याएको पारिवारिक रिक्तता र एउटी छोरीको अन्तरमनको करुणालाई उनले शब्दमार्फत यसरी उतारिन् कि पूरै हल केही बेर निशब्द बन्यो ।

    ​यो मार्मिक दृश्य थियो, बुटवलस्थित दिप बोर्डिङ हाई स्कुलमा आयोजित ‘विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम-२०८२’ को । कार्यक्रममा ममताकी प्रतिमूर्ति आमाको महत्त्वबारे बोल्दै गर्दा अर्की छात्रा वानी सिंह मञ्चमै भक्कानिइन् । आमाको त्याग र निस्वार्थ मायाको वर्णन गर्दै गर्दा उनको गला अवरुद्ध भयो र आँसु झरे । वानीको त्यो निश्चल भावुकताले हलमा उपस्थित धेरै आमाहरूलाई समेत रुवाएको थियो ।

    ​भावनाको त्यो भेलपछि मञ्चमा वैचारिक प्रहार भयो । छात्रा आयुषा खाम्चाले छोरी शिक्षाको महत्त्वमाथि बोल्दै समाजको परम्परागत सोचलाई कडा प्रश्न गरिन् । उनले भनिन्, “ती सपनाहरूलाई ‘अर्काको नासो’ सम्झेर घरभित्र कैद नगर्नुहोस्, छोरी त यो देशको भरोसा र भविष्यको बलियो आधार हो ।” आयुषाको यो गर्जनले हलमा तालीको गडगडाहट मात्रै ल्याएन, छोरीप्रतिको दृष्टिकोण बदल्न सचेत समेत गरायो ।

    ​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सुरुवातमा स्वतिवाचन र संस्कृति अधिकारीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि हिसान कपिलवस्तुका अध्यक्ष वासुदेव घिमिरे र विशिष्ट अतिथि प्याब्सन तिलोत्तमाका अध्यक्ष दीपक गौतमले विद्यार्थीहरूको बहुआयामिक प्रतिभाको खुलेर प्रशंसा गर्नुभयो । 

    ​कार्यक्रमका विविध पक्षबारे जानकारी दिँदै कक्षा ७ र ८ का संयोजक कृष्ण भुसालले कक्षा ७ का चारवटै सेक्सनका विद्यार्थीहरूको सक्रिय सहभागितामा यो कार्यक्रम उत्सव परिणत भएको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूले ७७ जिल्लाको नाम र ३१ मौलिक हकहरू धारासहित कण्ठस्थ सुनाएर आफ्नो अद्भुत स्मरण शक्ति प्रदर्शन गरेका थिए । साथै, ‘लिखा वया’ नेवारी नृत्य, ‘रोधी घरको आँगन’, ‘देउरालीमा बरपिपल’ र ‘शिरैमा शिरफूल’ जस्ता नृत्यहरूले हलमा नेपालको सांस्कृतिक विविधता झल्काएको थियो ।

    कार्यक्रमको साङ्गीतिक खण्डमा भजन टोलीको प्रस्तुति निकै अर्थपूर्ण थियो । ​”आध्यात्मिक शान्तिको आभास गराउँदै भजनको धुनले हललाई नै मन्दिर जस्तै पवित्र र शान्त बनाएको थियो ।”

    ​प्रविधिको बहस (Verbal Battle) मा विद्यार्थीहरूको तार्किक क्षमता देख्दा लाग्थ्यो, उनीहरू भविष्यका कुशल वक्ता बन्ने तयारीमा छन् । विद्यार्थीहरूको चौतर्फी विकासप्रति लक्षित गर्दै प्रिन्सिपल टीकाराम न्यौपानेले भन्नू भयो : “हाम्रो लक्ष्य केवल शिक्षित नागरिक मात्र उत्पादन गर्नु होइन, समाजको मुहार बदल्न सक्ने आत्मविश्वासी र संवेदनायुक्त नेतृत्व जन्माउनु हो । आज स्टेजमा देखिएको यो आँट नै भोलिको राष्ट्र निर्माणको जग हो ।” अभिभावक पुष्पा न्याैपाने, इन्दु खड्का र किशु शर्मा पाैडेलले विद्यालयले छोराछोरीको प्रतिभा पहिचानमा देखाएको तत्परताको प्रशंसा गर्नुभयो ।

    अभिभावक इन्दिरा रास्कोटीले आफ्ना बालबालिकाको आत्मविश्वास देख्दा खुसी व्यक्त गर्नुभयो । प्रियङ्का, जेनिशा र संस्कृतिको उद्घोषणमा सम्पन्न यो कार्यक्रम केवल एउटा विद्यालयको प्रदर्शनी मात्र नभई नयाँ पुस्ताको आँट र सपनाको एउटा बलियो दस्ताबेज बनेको छ ।



    lumbinisanjal   
  • २०८२ माघ २८, बुधबार १९:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP