• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    सुख्खा डाँडोमा अकबरे खेती : धुर्कोटका ताम्राकार दम्पतीको मेहनतले बाँझो माटो पनि फलफूलिलो

    • lumbinisanjal
    • २०८२ कार्तिक ११, मंगलवार १२:५१
    3.7K
    SHARES
    सुख्खा डाँडोमा अकबरे खेती : धुर्कोटका ताम्राकार दम्पतीको मेहनतले बाँझो माटो पनि फलफूलिलो

    टोपलाल अर्याल / गुल्मी, ११ कार्तिक। सिँचाइको प्रशस्त सम्भावना भएका खेतबारी बाँझो बन्दै गएको बेला धुर्कोट गाउँपालिका–१ नयाँगाउँ ओख्रेनीका एक दम्पतीले मेहनत र आत्मविश्वासका बलमा सुख्खा डाँडोमा पनि अकबरे खुर्सानी फुलाएका छन्।

    चन्द्र र मीना ताम्राकार दम्पतीले ओख्रेनी कृषि तथा पशुपंक्षी फर्ममार्फत करिब ७० रोपनी बारीमा अकबरे खेती गर्दै आएका छन्। आकाशे पानीकै भरमा सुरु गरिएको खेतीबाट यस वर्ष करिब ४० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य उनीहरूको छ।

    हाल फर्ममा सातजना स्थायी र १५–२० मौसमी कामदार कार्यरत छन्। ताम्राकारका अनुसार अहिलेसम्म ६० क्विन्टल अकबरे खुर्सानी बिक्री भइसकेको छ। उनले भने, “खुर्सानी एकैचोटि पाक्ने भएकाले कामदारको अभावले कहिलेकाहीँ बारीमै पाकेर राताम्ये हुन्छ।”

    खुर्सानीसँगै फर्ममा टमाटर, बन्दा, फूलगोभी, लौका, करेला, धनियाँ र काँक्राको समेत व्यावसायिक खेती गरिएको छ। यस वर्ष मात्रै टमाटर ४५ क्विन्टल र बन्दा–गोभी ४० क्विन्टल बिक्री भएको उनले जानकारी दिए।

    ताम्राकार दम्पतीले सुन्तला र केरा खेतीका साथै बाख्रा र भैंसीपालन पनि सुरु गरेका छन्। नयाँगाउँ सुन्तला उत्पादनका लागि परिचित भए पनि बसाइँसराइँका कारण बगैँचा अर्गेला बन्दै गएका बेला उनले ५०० बोट सुन्तला र ३०० बोट केरा रोपेर हरियो वातावरण पनि जोगाइरहेका छन्।

    उनीहरूका बारीमा अहिले १२ वटा टनेलमा टमाटर लटरम्म फलेका छन्। फर्मका कामदारले मासिक १२ देखि २५ हजार रुपैयाँसम्म आम्दानी पाउँछन्।

    स्थानीय व्यवसायी नारायण जिसी भन्छन्, “सुख्खा डाँडोमा नमुना खेती गरेर गाउँमा आशा र उत्साह जगाउने ताम्राकार दम्पतीलाई सरकारले सिँचाइ सुविधा र प्रोत्साहन दिनैपर्छ।”

    उनका अनुसार मेहनत र लगनको यस्तो उदाहरणलाई राज्यले सम्बर्द्धन गरे गाउँ फर्कने युवाहरूका लागि पनि प्रेरणा बन्न सक्छ। – गोरखापत्र



    lumbinisanjal   
  • २०८२ कार्तिक ११, मंगलवार १२:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP