• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    बुटवल हस्पिटलले थाल्यो विपद् पूर्वतयारी, डिजास्टर म्यानेजमेन्ट कमिटी गठन

    • lumbinisanjal
    • २०८३ आश्विन ९, शुक्रबार १८:५६
    182
    SHARES
    बुटवल हस्पिटलले थाल्यो विपद् पूर्वतयारी, डिजास्टर म्यानेजमेन्ट कमिटी गठन

    बुटवल । बुटवल हस्पिटल प्रा.लि.ले सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर रूपमा सञ्चालन गर्न डिजास्टर म्यानेजमेन्ट कमिटी (Disaster Management Committee) गठन गरेको छ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालको नेतृत्वमा गठन गरिएको समितिमा अस्पतालका विभिन्न विभागका प्रमुख तथा सम्बन्धित शाखाका जिम्मेवार पदाधिकारीहरूलाई समेटिएको छ।

    अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विपद्का समयमा अस्पतालको सेवा निरन्तरता, आकस्मिक बिरामी व्यवस्थापन, जनशक्ति परिचालन, बेड तथा भौतिक स्रोतको व्यवस्थापन, आपत्कालीन सञ्चार प्रणाली र विभागहरूबीचको समन्वयलगायतका विषयमा छलफल गरिएको थियो।

    सम्भावित बाढी, पहिरो, भूकम्प, आगलागी तथा अन्य आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै अस्पताललाई थप तयारी अवस्थामा राख्ने, आवश्यक जनशक्ति तथा स्रोत–साधनको पहिचान गर्ने र विपद्का समयमा छिटो तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको छ।

    मेडिकल सुपरिटेन्डेन्ट डा. खनालले विपद् व्यवस्थापनमा पूर्वतयारी नै महत्वपूर्ण हुने बताउँदै अस्पतालका सबै विभाग तथा कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले सम्भावित विपद्का अवस्थामा बिरामीको उद्धार, प्राथमिक उपचार, ट्रायाज, आकस्मिक शल्यक्रिया तथा उपचार सेवा, जनशक्ति परिचालन र आवश्यक स्रोत–साधन व्यवस्थापनलाई व्यवस्थित बनाइने बताए।

    अध्यक्ष पौडेलले विपद्का समयमा अस्पतालको भूमिका अझ महत्वपूर्ण हुने भएकाले जुनसुकै आपत्कालीन परिस्थितिको सामना गर्न सक्ने गरी अस्पताललाई तयारी अवस्थामा राख्न आवश्यक काम अघि बढाउन निर्देशन दिए।

    समितिले आगामी दिनमा विपद् व्यवस्थापन कार्ययोजना तयार गर्ने, आवश्यक मोक ड्रिल (Mock Drill) सञ्चालन गर्ने तथा अस्पतालको आपत्कालीन तयारी अवस्थाको नियमित समीक्षा गर्ने जनाएको छ।

    कार्यक्रममा अस्पतालका जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, सञ्चालक चन्द्रकान्त शर्मा लगायतले विपद् व्यवस्थापनका विषयमा धारणा राखेका थिए।

    १ सय शैय्या क्षमताको बुटवल हस्पिटल प्रा.लि. यस क्षेत्रका सुविधासम्पन्न निजी अस्पतालमध्ये एक हो। अस्पतालले आकस्मिक तथा नियमित स्वास्थ्य सेवासँगै सम्भावित विपद्का समयमा समेत प्रभावकारी सेवा प्रवाह गर्न पूर्वतयारीलाई प्राथमिकतामा राखेको जनाएको छ।



    lumbinisanjal   
  • २०८३ आश्विन ९, शुक्रबार १८:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP