• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    ११ जिल्लाका ८२ ठाउँमा फैलियो बर्ड फ्लु, हटस्पट बन्यो काठमाडौं

    • lumbinisanjal
    • २०८३ असार ११, बिहीबार ०७:५२
    299
    SHARES
    ११ जिल्लाका ८२ ठाउँमा फैलियो बर्ड फ्लु, हटस्पट बन्यो काठमाडौं

    बुटवल , ११ असार । तीन महिनाअघि ६ चैत २०८२ मा मोरङको सुन्दरहरैँचा नगरपालिका– ४ र उर्लाबारी नगरपालिका– ८ मा बर्ड फ्लु पुष्टि भयो । तीन महिना बित्दा मोरङबाट सुरु भएको बर्ड फ्लु ११ जिल्लाको ८२ स्थानमा फैलिएको छ, जसमध्ये कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीका साथै बारा, महोत्तरी, चितवन र नवलपरासीमा नियन्त्रणमा आइसकेको छ । तर, पछिल्लो समय काठमाडौं उपत्यका भने बर्ड फ्लुको हटस्पट बनेको छ ।

    पशु सेवा विभागका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र काभ्रेका केही स्थानमा बर्ड फ्लु देखापरेको छ । पुष्टि भएको बर्ड फ्लु तीन महिनादेखि नियन्त्रणमा आउन सकेको छैन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जीवजन्तुमा बर्ड फ्लु देखिएपछि ५ असारदेखि बन्द गरिएको छ ।

    तीन दिनसम्म बर्ड फ्लु देखिएको सूचना लुकाएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन् । बर्ड फ्लु संक्रमणबारे राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा प्रमुख साह छानबिनमा परेका हुन् ।

    लाखौँ पन्छी र अण्डा नष्ट

    बर्ड फ्लु महामारी नियन्त्रण तथा निवारणका लागि विभागले प्रभावित क्षेत्रहरूमा आकस्मिक रोग अन्वेषण टोली र द्रुत कार्यदल परिचालन गरी ठूलो परिमाणमा पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरेको छ ।

    अहिले रोग प्रभावित क्षेत्रका ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी नष्ट गरिएको छ भने ९ लाख ८९ हजार ३ सय १३ वटा अण्डाका साथै १ लाख ९५ हजार ४ सय ८५ केजी दाना नष्ट गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

    कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छी ओसारपासारमा रोक लगाइएकोमा अहिले बर्ड फ्लु नियन्त्रणमा आए पनि खुकुलो बनाइएको छ ।

    पछिल्लो समय उपत्यकामा फैलिएको बर्ड फ्लु रोग भाइरसको गुण परिवर्तन भए/नभएको यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा आवश्यक कार्य सुरुवात गरिएको विभागले जनाएको छ

    विभागले काठमाडौं उपत्यका र काभ्रेमा विशेष सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै अण्डा राख्ने कागजको पुरानो क्रेट पुन प्रयोगमा नल्याउन तथा ढुवानीको साधनलाई मार्फ परिसरभित्र ल्याउनुपर्ने भएमा पूर्ण निःसंकक्रमण गरेर मात्र ल्याउन भनेको छ । यसका साथै कागलगायतका जंगली पन्छीसँग घरपालुवा पन्छी तथा पन्छीकाृ दाना लसपस हुन नदिने गरी थुनेर पन्छी पालन गर्न र पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिर्वाय रूपमा भेटेरिनरी प्रमाणपत्र लिएमा मात्र गर्नसमेत अनुरोध गरेको छ ।

    बर्ड फ्लुको अहिलेसम्म कुनै प्रभावकारी खोप र उपचार नभएको विभागले उल्लेख गरेको छ । त्यसैले संक्रमण देखिएका पन्छी नष्ट गर्नु नै एक मात्र उपाय रहेको विभागको भनाइ छ । जंगली चराहरूबाट कुखुरामा सर्ने भएकाले बर्ड फ्लु देखिएका जिल्लामा कुखुरा नष्ट गर्ने गरिएको छ । विशेष गरी अण्डाका क्रेटहरूको पुनः प्रयोग र फार्ममा सरसफाइ कमीले गर्दा संक्रमण फैलिएको पाइएकाले किसानलाई जैविक सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न विज्ञप्ति जारी गर्दै विभागले सचेत गराएको छ ।

    मानिसमा बर्ड फ्लु संक्रमण देखिए मृत्यु हुने सम्भावना ५० प्रतिशत रहने विभिन्न अध्ययनहरूले देखाएका छन् । नेपालमा सन् २००९ मा पहिलोपटक झापामा बर्ड फ्लु देखिएको थियो । त्यसयता प्रत्येक वर्षजस्तो ‘आउट ब्रेक’ हुँदै आएको छ ।



    lumbinisanjal   
  • २०८३ असार ११, बिहीबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP