• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमामा साढे तीन करोडको महिलामैत्री आधुनिक हाटबजार शिलान्यास

    • lumbinisanjal
    • २०८३ बैशाख १३, आईतवार २२:१२
    520
    SHARES
    तिलोत्तमामा साढे तीन करोडको महिलामैत्री आधुनिक हाटबजार शिलान्यास

    रुपन्देही,१३ वैशाख । तिलोत्तमा नगरपालिका–४, सिमानगरमा साढे तीन करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने आधुनिक तथा महिलामैत्री हाटबजार भवनको शिलान्यास गरिएको छ।

    तिलोत्तमा नगरपालिकाको ३० प्रतिशत र United Nations Office for Project Services को ७० प्रतिशत लागत साझेदारीमा १७ कठ्ठा क्षेत्रफलमा नेपालकै नमूनाका रूपमा हाटबजार निर्माण हुन लागेको हो।

    शिलान्यास कार्यक्रममा नगर प्रमुख रामकृष्ण खांणले महिला व्यवसायीलाई प्राथमिकता दिने गरी निर्माण हुन लागेको उक्त हाटबजार पूर्ण रूपमा महिलामैत्री र आधुनिक हुने बताउनुभयो। उहाँका अनुसार सिमानगर केन्द्रित यस परियोजनाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले हाटबजारमा १९ वटा सेड रहने र करिब १६० व्यवसायीले व्यवसाय सञ्चालन गर्न सक्ने जानकारी दिनुभयो। हाटबजार क्षेत्रमा हरियाली व्यवस्थापन, सार्वजनिक शौचालय, खानेपानी, पार्किङ, ज्येष्ठ नागरिकका लागि चौतारी, बालबालिकाका लागि उद्यान तथा सुरक्षा व्यवस्थाका लागि सिसिटिभी जडानजस्ता आधारभूत सुविधा समेटिने उहाँले बताउनुभयो। निर्माण सम्झौता भएको मितिले ६ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    वडा नं. ४ का अध्यक्ष दिलबहादुर क्षेत्रीले हाटबजार सञ्चालनका लागि महिलालाई लक्षित गर्दै विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको उल्लेख गर्दै परियोजनाले नदी कटानको जोखिमबाट बस्ती संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा वडा सचिव काशी ज्ञवाली लगायतले पनि मन्तव्य राख्नुभएको थियो। निर्माणको जिम्मा मुक्ति कन्ट्रक्सन प्राली ले पाएको र काम अघि बढाइसकेको कम्पनीका सञ्चालक गोबिन्द पाण्डे ले जानकारी दिनुभयो।

    हाटबजार सञ्चालनमा आएपछि किसानले आफ्ना कृषि उपज प्रत्यक्ष रूपमा बिक्री गर्न सक्ने वातावरण बन्ने र स्थानीय आर्थिक गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले परियोजना सुरु भएकोमा खुशी व्यक्त गर्दै यसले किसान तथा साना व्यवसायीलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।



    lumbinisanjal   
  • २०८३ बैशाख १३, आईतवार २२:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP