• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    बुटवल–१५ सेमलारमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ बुधबारबाट , सम्पुर्ण तयारी पूरा

    • lumbinisanjal
    • २०८२ फाल्गुन ६, बुधबार ००:२९
    728
    SHARES
    बुटवल–१५ सेमलारमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ बुधबारबाट , सम्पुर्ण तयारी पूरा

    बुटवल । राष्ट्रिय परोपकार महासंघ नेपाल रुपन्देही जिल्ला कार्यसमितिको आयोजनामा बुटवल उपमहानगरपालिका–१५ सेमलार, चम्किपुर भाटामा बुधबारदेखि श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०८२ सुरु हुँदैछ। धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई सँगसँगै अघि बढाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

    महायज्ञबाट संकलित सहयोग रकम परोपकार कुञ्ज धामको भौतिक संरचना विस्तार तथा दीर्घकालीन गुरुयोजना कार्यान्वयनमा खर्च गरिने मूल आयोजक समितिका संयोजक डिल्लीराज भण्डारीले जानकारी दिए। उनका अनुसार यो दोस्रो अनुष्ठानका रूपमा आयोजना हुन लागेको महायज्ञले संस्थाको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    संस्थाका परिकल्पनाकार तथा भागवत प्रवक्ता कमलनयन गौतमले महासंघ विगत १८ वर्षदेखि निरन्तर सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय रहेको बताए। उनका अनुसार महासंघ हाल देशका ४३ जिल्लामा क्रियाशील छ भने १० जिल्लामा आश्रम स्थापना भइसकेका छन्। आगामी दिनमा बालबालिका, युवा र ज्येष्ठ नागरिक लक्षित आवासीय शिविर सञ्चालन गर्ने योजना रहेको उनले सुनाए।
    उनले आहार शैली र जीवनशैली सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै गुरुयोजनाअनुसार २५ वटा विभिन्न क्षेत्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य रहेको बताए। आफूले हालसम्म करिब १ हजार महायज्ञ सम्पन्न गरिसकेको दाबी गर्दै तीमध्ये ४ सय कार्यक्रम विद्यालय विकाससँग सम्बन्धित रहेको जानकारी दिए। धार्मिक तथा नैतिक शिक्षाको अभावले शैक्षिक गुणस्तर कमजोर हुने उनको भनाइ थियो।

    महासंघले करिब साढे १६ करोड रुपैयाँ लागतको गुरुयोजना तयार गरेको छ। भवन निर्माण, संरचना विस्तार र आवश्यक सामग्री व्यवस्थापनका लागि थप स्रोत जुटाउनुपर्ने अवस्था रहेको बताइएको छ। सम्पूर्ण योजना सम्पन्न गर्न झण्डै चार वर्ष लाग्ने अनुमान गरिएको छ ।

    निर्माण समिति संयोजक हरिध्वज मल्लका अनुसार गत वर्ष सम्पन्न महायज्ञबाट १ करोड ५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको थियो। त्यसमध्ये करिब ७ लाख खर्च भई १ करोडभन्दा बढी रकम बचत भएको उनले जानकारी दिए। हालसम्म ४० लाख रुपैयाँ उठ्न बाँकी रहेको पनि उनले बताए।

    गुरु आश्रम क्षेत्रमा करिब १ करोड २५ लाख रुपैयाँ बराबरको निर्माण कार्य जारी रहेको छ। सचिवालय भवन निर्माणका लागि ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कलश मण्डप, गार्ड रुम, यज्ञ मण्डप तथा शौचालय निर्माण कार्य सम्पन्न भइसकेको छ।
    यसैबीच, ४ करोड ४० लाख रुपैयाँ लागतमा ४ सय जना बस्न–खान सक्ने क्षमताको बहुउद्देश्यीय भवन निर्माणाधीन छ। उक्त भवन स्थानीय पालिकाको पहलमा निर्माण भइरहेको छ। चालु आर्थिक वर्षमा पालिकाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको र टेन्डर प्रक्रिया अघि बढिरहेको जानकारी दिइएको छ ।

    सह–संयोजक डिल्लीराज भण्डारीको स्वागत मन्तव्य तथा सचिव डम्बर बहादुर भण्डारीको सञ्चालनमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा भुवन खत्री, डम्बरराज शर्मा तथा महासंघका केन्द्रीय सदस्य तुल्सिराम भण्डारी लगायतको उपस्थिति रहेको थियो।
    आयोजकले महायज्ञलाई धार्मिक अनुष्ठान मात्र नभई सामाजिक रुपान्तरणको अभियानका रूपमा लिएको बताएका छन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ६, बुधबार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP