• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    ल्होसारको अवसरमा लुम्बिनी प्रदेशभर विविध सांस्कृतिक तथा सामाजिक कार्यक्रम : अध्यक्ष गुरुङ

    • lumbinisanjal
    • २०८२ पुष १३, आईतवार १५:४८
    3.9K
    SHARES
    ल्होसारको अवसरमा लुम्बिनी प्रदेशभर विविध सांस्कृतिक तथा सामाजिक कार्यक्रम : अध्यक्ष गुरुङ

    बुटवल, १३ पुस । तमू (गुरुङ) जातिको महान पर्व तमू ल्होसार ‘त ल्हो’ (घोडा वर्ग) को आगमनको अवसरमा तमू समुदायका छाता संगठनहरूले लुम्बिनी प्रदेशभर विविध सांस्कृतिक, सामाजिक तथा खेलकुद कार्यक्रम आयोजना गर्ने भएका छन्।

    तमू (गुरुङ) जातिको छाता संगठन तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद तथा यसको भातृ संगठनहरू तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद र नेपाल तमू (गुरुङ) छोंज धीं को संयुक्त आयोजनामा २६ औँ आशिमाला (शुभकामना) आदान–प्रदान कार्यक्रम सहित विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको हो।
    तमू युवा ह्युल लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन तमु गुरुङका अनुसार लुम्बिनी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्लामा सिउरा, भलिबल, कबड्डी प्रतियोगिता, राहत वितरण, शान्ति र्‍याली तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। साथै गुरुङ समुदायमा प्रचलित झाम्रे, घाटु, रोडी जस्ता मौलिक र ऐतिहासिक संस्कृतिको प्रस्तुति समेत गरिनेछ।

    अध्यक्ष गुरुङले तनहुँ, गोरखा लगायत विभिन्न जिल्लाबाट सहभागी हुने गरी पुस १५ गते बुटवल–८ व्यासक्याम्पस्थित तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको परिसरमा पुराना संस्कृतिको झल्को दिने विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उक्त कार्यक्रममा गुरुङ समुदायका अग्रज व्यक्तिहरूको उपस्थिति रहने उहाँले बताउनुभयो।

    यसैगरी ल्होसारको पूर्वसन्ध्यामा पुस १४ गते बिहान ठिक १० बजे बुटवल ट्राफिक चोकदेखि रामनगर बेसक्याम्पसम्म शान्तिपूर्ण र्‍याली आयोजना गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

    “तमू ल्होसार केवल पर्व मात्र नभई हाम्रो पहिचान, संस्कृति र सामूहिक एकताको उत्सव हो,” उहाँले भन्नुभयो, “यस अवसरमा मौलिक संस्कृतिको संरक्षण, सामाजिक सद्भाव र भावी पुस्तामा पहिचान हस्तान्तरण गर्ने उद्देश्यसहित कार्यक्रमहरू आयोजना गरिएको हो।”

    उहाँका अनुसार लुम्बिनी प्रदेशका अन्य जिल्लाहरूमा पनि ल्होसारको अवसरमा विभिन्न कार्यक्रमहरू एकसाथ आयोजना गरिनेछन्।



    lumbinisanjal   
  • २०८२ पुष १३, आईतवार १५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP