• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गण्डकी कोटिहोम : क्षमापुजन , भूमीपुजन सहित एकसय यज्ञकुण्ड तयार

    • lumbinisanjal
    • २०८२ बैशाख ४, बिहीबार ००:०५
    2.8K
    SHARES
    गण्डकी कोटिहोम : क्षमापुजन , भूमीपुजन सहित एकसय यज्ञकुण्ड तयार

    पोखरा ,४ बैशाख । पोखरा महानगरपालिका वडा नं. १७ मा वैशाख १७ गतेदेखि जेठको २६ गते सम्म हुने श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आज सम्पन्न भएको छ । २०८२ साल बैशाख ३ गते बुधबार बिहान ११ बजेर एक मिनेटमा दिप प्रज्वलनसहित भुमि पुजन गरिएको हो । महायज्ञका लागि आजदेखि नै मुल हवन कुण्ड खन्ने काम सुरु भएको छ ।

    बिहान ११ बजेर ११ मिनेटमा मुल हवन कुण्ड खन्न सुरु गरिएको आयोजक मानवसेवा फाउण्डेसनका संस्थापक विजय कृष्णमुर्ति जी महाराजले बताए । महायज्ञमा कथाबाचिका बाल विदुषी अनुराधा पाण्डेयले कथावाचन गरेकी छन् । संस्थापक विजय कृष्णमुर्तिका अनुसार महायज्ञमा बिहिबारबाट देवी प्रतिभाबाट कथावाचन हुने छ ।

    गत चैत्र १७ गते देखि नै कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरु भइरहेको छ ।

    भुमिपुजन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले लामो समयसम्म महायज्ञ कहाँ गर्ने भन्ने अन्योलका बीच आफ्नो संयोजकत्वमा वडा नं. १७ स्थित हरिहर मन्दिरको जग्गामा महायज्ञ गर्ने निर्णयमा पुगेको स्मरण गरिन् । पोखरा १७ मा शतसयकुण्डीय कोटिहोम हुनु गौरवको विषय भएको उनको भनाई छ ।

    कार्यक्रममा विश्व हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष शंकर खरालले नेपालका अध्यात्मिक व्यक्ति योगी नरहरिनाथको संकल्पमा निर्मित हरिहर मन्दिरमा कोटिहोम गर्न पाउनु गौरवको विषय भएको बताए । यति विशाल कोटिहोम न विगतमा भएको थियो र न अब हुनेछ भन्दै कोटिहोममा सहभागी हुन पोखरेलीहरुलाई आग्रह गरे ।

    कोटिहोमकै अवसरमा राष्ट्रिय भजन प्रतियोगिता समेत हुदैछ । वैशाख १७ गतेदेखि जेठको २६ गते सम्म पोखरामा हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट्‌ज्ञान महायज्ञ २०८२ अन्तरगत यो प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष प्रजापति पराजुलीले जानकारी दिए ।

    प्रतियोगितामा रैथाने, परम्परागत, खैञ्जडी लगायतका सबै भजनलाई पर्यटकीय राजधानी पोखरामा देशैभरबाट उपस्थिति गराउने तयारी गरिएको उनले खुलाए । अहिलेसम्म झण्डै १ सय टिमले दर्ता गराइसकेका छन् । बाँकी इच्छुक भजन समुहलाई टिम दर्ता गर्नको लागि यहीं बैशाखको १० गतेसम्मको समय दिइएको छ  ।

    प्रतियोगितामा भाग लिने मध्येबाट १६ वटा विधामा पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । सान्त्वना पुरस्कार स्वरुप ६५ हजारका दरले दुई टिमलाई पुरस्कृत गरिनेछ । यसका अलावा उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषा, उत्कृष्ट अभिनय, उत्कृष्ट श्रृ‌ंगार, उत्कृष्ट पुरुष स्वर, उत्कृष्ट महिला स्वर, उत्कृष्ट बाल कलाकार लगायतका विधामा पुरस्कार प्रदान गरिनेछ ।

     



    lumbinisanjal   
  • २०८२ बैशाख ४, बिहीबार ००:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP